रौतहट । आम जनता पार्टी (आजपा) का उपमहासचिवपछि केन्द्रीय वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पनि प्रभु साहको साथ छोडेका छन्। उनले नेतृत्वसँग असन्तुष्टि जनाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको जनाएका हुन् ।
आजपा अध्यक्ष साहनिकट रहेर सहयोग गर्दै आएका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले सोमबार आफ्नो आधिकारिक फेसबुकमार्फत सो घोषणा गरेका छन् । राष्ट्रिय जनमोर्चा पार्टीबाट राजनीति सुरु गरेका साहले यसअघि माओवादीको पोलिटब्युरो सदस्यको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्।
रौतहटको माधव नारायण नगरपालिका-५ घर भएका उपेन्द्र साह २०७९ को निर्वाचन अघि नेकपा एमालेको केन्द्रीय सदस्य, पार्टी जिल्ला इन्चार्ज र नेकपा एमालेबाट तेस्रो स्थानमा समानुपातिक सांसदको लागि सिफारिस भएका थिए।
२०७९ साल को निर्वाचनमा प्रभु साहले नेकपा एमालेको टिकट गोजीमा राखेर प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए।
निर्वाचनमा उपेन्द्र साह प्रभु साहको जस्तै एमालेकाे वास्ता नगरी स्वतन्त्र उम्मेदवार बनेका कारण पार्टीले कारबाही गरेको थियो। तर पछिल्लो केही महिनादेखि आजपा अध्यक्ष प्रभु साह र उनीबिच अविश्वासको वातावरण बनेको थियो।
आम जनता पार्टीको मूल नेतृत्वसँग विश्वासको संकट देखिएपछि आजपा तथा प्रभु साहको साथ छोडेको उनले बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आजपाको राष्ट्रिय अध्यक्ष माननीय प्रभु साहसँग भएको लामो सहयात्राको लागि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँको पार्टीn] प्रगति गरोस् हार्दिक शुभकामना छ। आजको मितिदेखि म आजपाको कुनै पनि संगठन जिम्मेवारीमा नरहेको सबैमा जानकारी गराउँदछु,’ भनेर पोस्ट गरेका थिए।
रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘भर्खरै पार्टी छोडेको छु, अहिले केही समय विश्राम गर्छु । साथी सहयोगीहरूको सल्लाह सुझाव अनुसार कुनै दलमा आबद्ध हुन्छु।’
वरिष्ठ उपाध्यक्ष साहभन्दा अघि उपमहासचिव कुन्दन कुशवाहले पनि आजपा नेतृत्वसँग असन्तुष्टि जनाउँदै पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गरेका थिए। हाल उनी केन्द्रीय सदस्य रहेका छन्।