पर्सा । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीको भीड बढेको छ। नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी बनाउने लगायत प्राशासनिक कामका लागि सेवाग्राहीको भीड लाग्न थालेको हो।
बिहानैदेखि सेवाग्राही लाइनमा बसेर पालो कुरिरहेको देख्न सकिन्छ। लामो समयदेखि रोजगारीको सिलसिलामा छिमेकी मुलक भारत तथा नेपालको विभिन्न शहरमा र काठमाडाैं लगायत विभिन्न ठाउँमा अध्यनका लागि गएका विद्यार्थी घर फर्केसँगै विभिन्न कामको लागि जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको भीड लाग्न थालेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
पहिलो समयमा सेवा लिनेको सङ्ख्याभन्दा अहिले सेवाग्राहीको सङ्ख्या बढेको उनको भनाइ थियो। सेवाग्राहीको भीड बढे पनि कार्यालयले आधा घण्टामै सेवा प्रदान गरिरहेको छ। कर्मचारी अभाव हुँदा पनि आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीडभाडसमेत कम हुँदै गएको उनले बताए ।
सेवाग्राहीले आवश्यक सम्पूर्ण कागजात पुर्याए ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको प्रजिअ अर्यालले बताए ।
खास गरी अहिले राष्ट्रिय परिचय पत्र बनाउने शाखामा भीड बढी लाग्ने गरेकोले ६ वटा स्टेशनबाट सेवा प्रभाव भइरहेको छ । भोलिदेखि २ वटा स्टेशन थप गरी ८ वटा स्टेशनबाट सेवा प्रभाव गर्दा भीड कम हुने उनले बताए ।
राष्ट्रिय परिचय पत्र बनाउने शाखामा मैले आफ्नो कर्मचारी पठाउन नमिल्ने भएको हुँदा अलि भीड बढेको हो । राष्ट्रिय परिचय पत्र बनाउने कार्यमा केन्द्रबाट नै कर्मचारी आउने भएकोले भोली सम्म उहाँहरूले आउने योजना सँगै कार्य अघि बढाइएको छ ।
कर्मचारीको अभावमा समेत जिल्ला प्रशासन कार्यालयले ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि टाढा टाढाबाट आएका नागरिकलाई निकै सहज भएको छ। जिल्लामा एक मात्र इलाका छ ।
राष्ट्रिय परिचय पत्र बनाउने शाखाले बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म सेवा दिँदै आएको छ । राष्ट्रिय परिचय पत्र बनाउने कार्य बन्द हुने सूचना पाएसँगै एक्कासी भीड बढेको प्रमुख अर्यालले बताए । तर यो हालको लागि १२ घटना दिँदै आइएको हुने बताए ।