नवलपुर । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्डमा पर्ने दाउन्ने खण्डमा आजदेखि गाडी रोकेर सडक विस्तारको काम गरिने भएको छ । आजदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर सडक विस्तारको काम गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
२०८२ बैशाख १ देखि १५ दिन राति ११ बजेदेखि विहान ५ बजेसम्म बाटो बन्द गरेर काम गरिने भएको हो । सडक विभागले बाटो बन्द भएको बेला ट्रक, टिप्पर लगायत गरुङ्गा सवारी साधनलाई पूर्वमा अरुणखोला र चोरमारामा रोकिने तथा पश्चिममा ज्यामिरे हकुई खण्डमा रोकिने जनाएको छ । यात्रुवाहक बस, मिनी बस, जिप, कार लगायतका सवारी साधनलाई भने पूर्वमा दुम्किबास र पश्चिममा बर्दघाट चिसापानीमा रोकिने छ ।
सवारी साधन नै रोकेर बाटो विस्तारको काम गर्ने भएपछि बैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले चालकलाई अनुरोध गरेको छ । पूर्वबाट पश्चिम जाने सवारी साधनले गैँडाकोटदेखि कालिगण्डकी करिडोरको सडक र पूर्वबाट पश्चिम नारायणघाटतर्फ आउने सवारी साधानले बुटबलबाट पाल्पा हुँदै कालिगण्डकी करिडोरकै सडक प्रयोग गर्न सकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनक बन्जाराले बताउनुभयो ।
गैंडाकोटदेखि पाल्पा हुँदै बुटवल जाने बाटोमा साना गाडीहरुमात्र चल्छन् । साना–ठूला सबै गाडीहरुका लागि भने नारायणघाट–मुग्लिन–पोखरा–पाल्पा हुँदै बुटवल आउ–जाउ गर्ने अर्को उपयुक्त बाटो भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । उहाँका अनुसार अहिले पनि केही गाडीहरुले यही रुट प्रयोग गर्दैआएका छन् ।
पश्चिमतर्फबाट पूर्व जाने वा राजधानी काठमाडौंसम्म पुग्ने गाडीवालाले पनि बुटवल–पाल्पा–पोखरा–मुग्लिनको बाटो प्रयोग गर्न सक्छन् । यो बाटोमा साना–ठूला सबै प्रकारका गाडीहरु चल्छन् । तर यो रुट लामो र घुमाउरो छ । यो बाटो प्रयोग गर्ने सार्वजनिक सवारी चालकले यातायात कार्यालयबाट रुट परमिट भने लिनुपर्ने हुन्छ ।