सल्यान, । सल्यान जिल्लामा म्याद सकिएका औषधि तथा सर्किजल सामग्रीहरू बिक्रीका लागि राखिएको भेटिएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको समन्वयमा जिल्ला प्रशासन कार्यालय सल्यान र औषधि व्यवस्था विभाग नेपालगन्जको संयुक्त अनुगमन टोलीले झन्डै ७ लाख ९८ हजार ६ सय ९२ रुपैयाँ बराबरका म्याद सकिएका औषधिहरू बरामद गरेको हो ।
अनुगमनका क्रममा एक सरकारी र १९ वटा निजी स्वास्थ्य संस्थाहरूका फार्मेसीहरूबाट म्याद सकिएका औषधि बरामद गरिएका छन्। अनुगमन टोलीका अनुसार जिल्ला अस्पताल सल्यानले सञ्चालन गरेको फार्मेसीमा समेत म्याद सकिएका औषधिहरू फेला परेका छन्। अस्पतालमा निःशुल्क वितरणबाहेक बिक्रीका लागि राखिएका औषधिहरूमा यस्तो लापरबाही देखिएको हो। यसअघि निजी फार्मेसीमा मात्र निगरानी गरिँदै आए पनि जिल्ला अस्पतालको फार्मेसीमा अनुगमन गरिएको यो पहिलो पटक हो।
अनुगमन टोलीले शारदा नगरपालिका–२ स्थित एभरेस्ट मेडिकल हल, शारदा नगरपालिका–१ श्रीनगरमा रहेका परोपकार हस्पिटल प्रा.लि., याक्सन कुमाख अस्पताल, कर्णाली अस्पताल, जनविश्वास औषधि पसल, मेट्रो फार्मेसी, अन्नपूर्ण आयुर्वेदिक मेडिकल सेन्टर, मनकामना मेडिकल सेन्टर, कान्तिपुर सामुदायिक अस्पताल अन्तर्गतको अनुष फार्मेसी, र ओर्फिक हेल्थ एण्ड व्युटी मा म्याद सकिएका औषधि तथा सर्किजल सामग्री फेला परेको जनाएको छ ।
साथै, सिद्धकुमाख गाउँपालिका ३ ढोरचौर क्षेत्रमा रहेका धिरज होमियोप्याथी औषधि पसल, भरत मेडिकल हल, र १ मोखलामा रहेको प्रभात मेडिकल हल, साथै टिका एग्रोभेट सेन्टर मा पनि यस्तै लापरबाही देखिएको छ ।
प्रकृति फार्मेसी, र थारमारेस्थित श्रीराम मेडिकल हल, बागचौर नगरपालिकामा १० रहेको कृष्ण मेडिकल हल वडा नं. १०मा रहेको सजिल फार्मेसी पनि अनुगमनको दायरामा परेका थिए, जहाँ म्याद सकिएका औषधिहरू भेटिएका छन् ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्यामलाल खरालले संलग्न संस्थाहरूलाई पहिलो पटक चेतावनी दिइएको वताउनुभयो । उहाका अनुसार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरबाही अस्वीकार्य छ । अब नियमित अनुगमनलाई थप कडाइका साथ अघि बढाइनेछ ।
बरामद गरिएका औषधिहरू नष्ट गर्न औषधि व्यवस्था विभाग नेपालगन्जमा पठाइएको छ। साथै, केही मेडिकलहरूले अनुगमनका समयमा सटर नै बन्द गरेका थिए । दोहोरिएमा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
यसअघि निजी फार्मेसीमा मात्र निगरानी गरिँदै आए पनि जिल्ला अस्पतालको फार्मेसीमा अनुगमन गरिएको यो पहिलो पटक हो। सल्यानमा अस्पतालमा रहेको सरकारी फार्मेसी म्याद गएको औषधीको यकिन रकम निक्र्यौल भएको छैन ।