जनकपुरधाम । मधेशका प्रतिपक्षी दल जसपा नेपालका सांसद सरोज कुशवाहाले भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवको राजीनामा मागेका छन् ।
प्रदेशसभा बैठकमा सांसद कुशवाहाले मन्त्री यादवले सदनको मानमर्दन हुने अभिव्यक्ति दिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले भने, ‘एक कुशल सांसद र जनताको जिम्मेवार प्रतिनिधिको तर्फबाट उनको (मन्त्री यादवको) राजीनामाको माग गर्दछु । उनले संसदको दुरुपयोग गरे । त्यसैले राजीनामा दिएर मार्ग प्रशस्त गरुन् ।’
सांसद कुशवाहाले मन्त्री यादवले राजीनामा नदिए अगामी दिनमा मधेश प्रदेश संघीयता विरोधी रहेको चार्ज लाग्ने पनि बताए ।
मन्त्री यादवले योजना बेचेको आरोप लागेपछि उनले बुधवार सदनमा जवाफ दिएका थिए । सो क्रममा उनले माननीयहरुले आफैं योजनाको चिट्ठी बुझेर लगेको र कतिपय माननीय चिट्ठी बुझेको दुई महिनासम्म वडामा दर्ता समेत नगराएको विवरण सार्वजनिक गरेका थिए ।
मन्त्रालयबाट सांसदहरुले स्वयंम योजनाको चिट्ठी बुझ्नु गैरकानूनी हो । तर, मन्त्री यादवले सांसदहरुको पोल खोलेपछि जसपा नेपालका सांसद कुशवाहाले आजको प्रदेशसभा बैठकमा आक्रोश पोखे ।
कुशवाहाले प्रश्न गरे, ‘तपाई (मन्त्री यादव)ले नै आन्तरिक पोलिसी बनाउनु भएको छ? अनी तपाईले रोष्टमबाट सार्वजनिक गर्ने ? तपाई के राजा हरिशचन्द्र हो ?’
उनले आठै जिल्लाका भौतिक पूर्वाधार कार्यालयले योजनाको चिट्ठी मन्त्रालयमा नभएर मन्त्री यादवको सचिवालयमा बुझाएको दावी पनि गरे । ‘महोत्तरीका पूर्वाधारका प्रमुखले सिडिओकै अगाडि मन्त्रीको सचिवालयलाई सबै पत्र बुझाइसकेको बताउनुभएको छ’, सांसद कुशवाहाले भने ।