काठमाडौँ । राजावादी हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आफू काठमाडौँमै रहेको दाबी गर्दै बनाएको भिडियो सन्देशमा देखिएको मन्दिर आसाममा भेटिएको छ ।
त्यसबेला उनी भारतको आसाम राज्यस्थित वास्का जिल्लामा एक नेपाली मूलका नागरिकको घरमा लुकेर बसेका थिए ।
नेपाल प्रहरीको विशेष ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालयसहितको टोलीले गरेको लामो समयको अनुसन्धान पश्चात् उनी त्यहाँ लुकेर बसेको अवस्थामा फेला पारेका हुन् ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रसाईंले जारी गरेका दुई भिडियो सन्देश सोही ठाउँमा खिचेको पाइएको छ ।
प्रसाईंले गत बुधवार दोस्रो भिडियो सन्देश सार्वजनिक गरेका थिए, जसमा पृष्ठभूमि एडिट गरिएको थियो । सो भिडिओ खिचेको स्थान समेत पत्ता लगाएको उनले बताए ।
उनले पछि प्रमाण हुने भएकाले त्यस ठाउँका तस्बिरहरू समेत ल्याइएको बताए ।
तीनकुनेस्थित आन्दोलनलाई उत्तेजनात्मक ढंगले अगाडि बढाउँदै फरार रहेका प्रसाईँ हिजो भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए ।
भारतीय राज्य आसामको प्रहरीद्वारा नेपाल प्रहरीसँगको समन्वयमा पक्राउ परेका उनी शुक्रवार नेपाल–भारत सीमाबाट नेपाल प्रहरीलाई बुझाइएको छ ।
प्रहरी स्रोतका अनुसार अहिले प्रसाईंलाई म्याद थपका लागि आवश्यक कागजात तयार गर्नुका साथै ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी भइरहेको ।