वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष २०८२ को अवसरमा आदर्शनगरस्थित पुरानो बसपार्क क्षेत्रमा आजदेखि तीनदिने ‘रात्रि बजार मेला’ सुरु गरेको छ। चैत २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने रात्रि बजारको उद्देश्य स्थानीय व्यापारलाई प्रवर्द्धन गर्नुका साथै नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउनु हो।
ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानका अनुसार रात्रि बजारको सम्पूर्ण तयारी पूरा भइसकेको छ र हालसम्म १०० वटा स्टल बुकिङ भइसकेका छन्। मेलामा खाद्य परिकार, लत्ताकपडा, भाँडाकुँडा, कस्मेटिक्स, हस्तकलाका सामग्री, चश्मा, चप्पल, घरेलु उत्पादन र अन्य विभिन्न स्टलहरू रहने छन्।
महानगर प्रमुख राजेशमान सिंहले रात्रि बजारको शुभारम्भ गर्दै यसले वीरगञ्जको आर्थिक गतिशीलता बढाउने विश्वास व्यक्त गरे। "रात्रि बजारले बजार अबेरसम्म सञ्चालन गर्ने संस्कृति विकास गर्न सहयोग पुर्याउनेछ," उनले भने, "यसले स्थानीय व्यवसायी र उपभोक्ताबीचको सम्बन्धलाई बलियो बनाउनेछ।"
रात्रि बजारमा सांस्कृतिक कार्यक्रम, ट्याटु र मेहन्दी, फुट मसाज, फोटोग्राफी र सेल्फी स्पट जस्ता आकर्षक व्यवस्था पनि गरिएका छन्, जसले युवादेखि परिवारसम्म सबै उमेर समूहलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सफल बनाउन ग्रिन सिटी सामुदायिक सेवा केन्द्र, नेपाली युवा उद्यमी मञ्च (NYEF), वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन, फोरजीआर, रुंगटा वेलफेयर, इम्प्रुभिङ वीरगञ्ज, नेपाल इनोभेटिभ सोसाइटी, घरेलु तथा साना उद्योग, र एड्स बी मिडिया प्रालि जस्ता संस्थाहरूले सहकार्य गरेका छन्।
खेतानले भने, “हामी सबै वीरगञ्जवासीलाई आग्रह गर्छौं-नयाँ वर्ष बाहिर नजाऔँ, यहीँ रात्रि बजारमा रमाऔँ र स्थानीय उत्पादन, संस्कृति तथा समुदायको उत्सवलाई समर्थन गरौँ।”
नयाँ वर्ष २०८२ को स्वागतमा आयोजना गरिएको रात्रि बजार वीरगञ्जवासीका लागि व्यापार, मनोरञ्जन र सामाजिक एकताको संयोजन हुने विश्वास लिइएको छ।