पर्सा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजावादीको नाममा काठमाडौंमा गराइएको घटनाले मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरु भइरहेको बताउनु भएको छ ।
नेकपा एमाले वीरगन्ज महानगरपालिका नगर कमितको दोश्रो अधिवेशन उद्घाटनपछि नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मन्त्री गुप्ताले देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठूला राजनीतिक दल संयुक्त रुपमा सरकार बनेको बताउनु भयो ।
यो सरकारले मुलुकलाई स्थिरताको कोर्षमा लागेको बताउँदै मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हुन् थालेको उनले बताए । मुलुकलाई अस्थिरतामा लैजान जती प्रयास भए पनि त्यो सफल हुन नसक्ने बताए ।
साथै उद्दघाटन शत्रमा सम्बोधन गर्दै मन्त्री गुप्ताले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने बताए । ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याएपछि एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दावी गरे ।
‘जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन सक्दैन । त्यसबेलासम्म यो देशका समस्या समाधान गर्न सकिँदैन, राष्ट्रियताको समस्या समाधान गर्न सकिँदैन, राष्ट्रिय स्वाभिमानका मुद्दाहरु प्रभावकारी ढंगले उठाउन सकिदैन,’ उनले भने ।
देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखिनै सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो । अहिलेको राजनीतिक समीकरण मिसन ८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेपमात्र भएको भन्दै एमाले कुनै मोर्चाको पक्षमा नरहेको समेत उनले खुलाए ।
उनले आगामी निर्वाचनमा बिरगंज महानगरपालिका ३२ वटै वडामा जित्नेगरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।