वीरगन्ज । वीरगन्जका होटल,रेष्टुरेण्ट,मदिार पसल , फलफुल पसल लगायतका व्यवसायिक क्षेत्रमा बालश्रमा लगाइएका १७ जना बालकहरुको उद्धार गरिएको छ ।
गैरसरकारी संस्था सानो पाईलाले वीरगन्जमा गत बुधबारदेखि ‘बाल श्रमिकको उद्धार तथा दीगो व्यवस्थापन अभियान’ सुरु गरेको छ । अभियानको पहिलो दिन गत बुधबार १७ जना बालकहरुको उद्धार गरिएको सानो पाइलाका प्रेस कोर्डिनेटर विवेक कर्णले जानकारी दिए ।
उनका अनुसार, वीरगन्जका होटल,रेष्टुरेण्ट,मदिार पसल , फलफुल पसल लगायतका व्यवसायिक क्षेत्रमा काम गरिरहेका विभिन्न उमेरका १७ जना बालकहरुको उद्धार गरिएको हो । वीरगन्ज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय पर्सा , श्रम तथा रोजगार कार्यालयका प्रतिनिधीहरुको सहयोगमा ८ देखि १५ वर्ष उमेरका ती बालकहरुको उद्धार गरिएको कर्णले बताए ।
बुधबार उद्धार गरिएका १७ मध्ये १२ जना बालकहरुलाई अब उप्रान्त बालश्रममा नलगाउने प्रतिबद्धतासहित बिहीबार उनिहरुको अभिभावकको जिम्मा लगाएर घर पठाइएको कर्णले जानकारी गराए । परिवारको पत्ता नलागेका बाँकी ५ जना बालकहरुलाई भने सानो पाइलाद्वारा वीरगन्जमा सञ्चालित बाल गृह ‘सानो घर’ मा आश्रय दिएर राखिएको कर्णले बताए ।
उद्धार गरिएका बालकहरुले आँफुहरुलाई बिहानदेखि मध्यरातसम्म काम लगाउने गरिएको बताएको कर्णले जानकारी दिए । वीरगन्ज महानगरपालिका बालश्रम मुक्त महानगर घोषणा गराउने लक्ष्यसहित सानो पाइलाले ‘बाल श्रमिकको उद्धार तथा दीगो व्यवस्थापन अभियान’ सुरु गरेको कर्णले बताए ।कर्णका अनुसार, अभियान सुरु गर्नु पूर्व सानो पाइलालले वीरगन्ज महानगरमा प्रारम्भिक अध्ययन गरेको थियो । उक्त अध्ययनका क्रममा विभिन्न व्यवसायिक क्षेत्रमा कानून विपरित बालबालिकालाई बालश्रममा लगाइएको भेटिएपछि गत बुधबारदेखि अभियान सुरु गरेको उनले बताए ।
उद्धार गरेर परिवारजनको जिम्मा लगाइने बालबालिकाहरुको बालअधिकारको रक्षा गर्दै उनिहरुको पालनपोषणका लागि व्यवस्था मिलाउन सानो पाइलाले पहल गर्ने कर्णले बताए । यस्तै उद्धारपछि अभिभावक वा परिवारको पत्ता लाग्न नसकेका बालबालिकाको दीर्घकालिन व्यवस्थापनका लागि संस्थाले काम गर्ने पनि उनले बताए । यसका लागि सरोकारवाला विभिन्न निकायहरुसंग संस्थाले छलफलपनि गरिरहेको कर्णले बताए ।
बालश्रम सम्बन्धि ऐनले १८ वर्षभन्दा कम उमेरका बालबालिकालार्य बालक भनि परिभाषित गरेको छ । १४ वर्ष उमेर नपुगेका बालबालिकालाई श्रमिकका रुपमा काममा लगाउन पाइदैन । त्यस्तै १४ देखि १८ वर्षसम्मको उमेरका बालबालिकालाई काममा लगाउनै पर्ने भएमा रोजगारदाताले श्रम कार्यालयबाट स्वीकृति लिनुपर्ने हुन्छ । अन्यथा काममा लगाएमा रोजगारदातालाई कैद सजाय र जरिवानाको व्यवस्था हुने बालश्रम सम्बन्धि ऐनमा उल्लेख छ ।