रौतहट । ट्राफिक नियम उलङ्घन गरेको अभियोगमा जिल्ला ट्राफिक कार्यालय रौतहटले ११ हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ट्राफिक नियम उलङ्घन गर्ने ११ हजार १२५ जना सवारी चालक कारबाहीमा परेका छन् ।
सवारी चेकजाँच, प्रशिक्षण तथा कारबाही अभियान अन्तर्गत मदिरा सेवनगरी सवारी चलाउने, ओभरलोड गर्ने, हेल्मेट वा सिटबेल्ट नलगाउने, सवारी साधनको कागजात नहुने, आलक अनुमतिपत्र (लाइसेन्स) नबोक्ने, रुट परमिट नलिनेलगायतका सवारी चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले बताउनुभयो।
उहाँका अनुसार उक्त नौ महिनाको अवधिमा कारबाहीमा परेका चालकबाट एक करोड तीन लाख ९२ हजार रुपियाँ राजश्व सङ्कलन भएको छ । यस अवधिमा बस, साना तथा ठुला मालबाहक तथा सवारी साधन, दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी समेत कारबाहीमा परेका छन् ।
यसैक्रममा ट्राफिक प्रहरीले सवारी चालकलाई कारबाही मात्र नगरी दुर्घटना न्यूनीकरण र ट्राफिक ज्ञान सम्बन्धि चेतना अभिवृद्धिमा समेत जोड दिएको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सार्वजनिकस्थल, विद्यालय, बजारलगायतको स्थानमा चेतनामूलक कार्याक्रम सञ्चालन गर्दै आएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।
कार्यालयको तत्थ्याङ्क बमोजिम चालु आर्थिक वर्षको चैत मजसान्तसम्म रौतहटमा ५३९ वटा सवारी दुर्घटना भएका छन् जसमा ३६ जनाको मृत्यु भएको छ भने ८९० जना घाइते भएकाछन् । यस्तो अवस्थामा समेत रौतहटमा भारतीय नम्बरप्लेटका सवारी साधन अधिक चल्ने गर्छ ।
भारतीय राज्य बिहारको प्रभावको कारण सीमाक्षेत्र तथा ग्रामिण भेगका नेपाली नागरिक बिना हेल्मेट र बिना कागजपत्र त्यस्ता सवारी प्रयोग गरेको पाइन्छ ।