पर्सा । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीले जिल्लाको बिन्दबासिनी गाउँपालिकाका विभिन्न ठाउँमा अनुगमन गरेको छ । टोलीले निर्माणाधिन विभिन्न भवन , हाल सेवा प्रवाह भई रहेको भवन , पालिका अन्तर्गतको सडक लगायतको अनुगमन गरेको हो ।
साथै वडा नं २ को सार्वजनिक जग्गामा पालिका कार्यालय भवन निर्माणका लागि छनौट गरिएको जग्गामा सम्मानित अदालतबाट भएको आदेश बमोजिम घर टहराहरु छिटै खाली गराई भवन निर्माण प्रक्रिया अगाडि बढाइने उहाँले बताउनु भयो ।
साथै नागरिकता सम्बन्धि आउने समस्या , वडाबाट नागरिकता सिफारिस गर्दा ध्यान दिनुपर्ने कुराहरु , सार्वजनिक अपराध , घटना दर्ता गर्ने आधारहरु , बिपद पूर्व तयारी लगायतका विषयमा गाउँकार्यपालिकाको कार्यालयमा छलफल भएको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिनुभयो ।
विकास निर्माण सहित सेवा प्रवाहका विषयमा केही समय देखि प्रमुख जिल्ला अधिकारी अर्याल अनुगमनमा निस्कि रहनुभएको छ । निर्माणाधिन विकासका कामलाई तोकिएको समयमै सक्न र गुणस्तरीय काम गर्न निर्देशन दिइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।
साथै सेवा प्रवाहको अवस्थाको बारेमा जानकारी लिदै सेवा प्रवाहमा देखिएका समस्यालाई हल गर्न तथा विशेषगरी नागरिकताका सम्बन्धमा स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुसंग छलफल गरिरहेको उहाँको भनाई छ ।
जिल्लाबाट प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सहित प्रहरी प्रमुख गौतम मिश्र , सशस्त्र प्रहरी प्रमुख राधेश्याम धिताल लगायतको टोली गएको थियो । अनुगमणका लागि उक्त टोलीमा गाउँपालिका अध्यक्ष तिवारी , उपाध्यक्ष ज्योती चौरसिया , वडा अध्यक्ष लगायतको टोली जोडिएको थियो ।