रौतहट । रौतहट सदरमुकाम गौरमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्माणाधीन भवनको काम प्रभावित बनेको छ । गौर बाढी प्रभावित क्षेत्र भएका कारण आंशिक रूपमा ‘डिजाइन’ परिवर्तन भई काम हुँदा अन्तिम चरणमा आएर निर्माण कार्य नै प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ ।
भवन निर्माण कम्पनी सिनर्जी राजदेवी भक्त जेभीका अरबिन्द जयसवालले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सम्पन्न गर्न नसकिएको बताउनुभयो । नयाँ डिजाइन पनि स्वीकृत भएको छैन । डिजाइन स्वीकृत नहुँदा भेरिएसन पनि नभएको, जयसवालले भन्नुभयो, “डिजाइन स्वीकृत तथा भेरिएसनका लागि पटक पटक ताकिता गर्दा पनि हुन सकेको छैन ।”
कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका कोष नियन्त्रक देवीप्रसाद गौतमका अनुसार कार्यालयले आवश्यकता अनुसार डिजाइन आंशिक रूपमा संशोधन गरेर काम गराएको देखियो, महालेखा नियन्त्रक कार्यालयले परिवर्तित डिजाइन स्वीकृत गरी भेरिएसन नगरिदिँदा निर्माण कम्पनीले पाउनुपर्ने करिब ५० लाख रुपियाँ भुक्तानी रोकिएको छ । भुक्तानी रोकिएका कारण सम्पन्न गर्नुपर्ने काम निर्माण कम्पनीले गर्न मानेका छैनन् ।”
सकेसम्म भेरिएसन गर्नु नपर्ने गरी काम गरेको राम्रो भए पनि स्थानीय आवश्यकता अनुसार डिजाइन आंशिक रूपमा परिवर्तन गरेर काम गरिसकेकाले कानुनको परिधिभित्र रही यसलाई टुङ्गो लगाउनुपर्ने सघन सहरी तथा भवन निर्माण आयोजना पर्साका कार्यालय प्रमुख सञ्जीव साहले बताउनुभयो । भेरिएसन स्वीकृत गर्न बारम्बारको ताकितापछि महालेखा नियन्त्रक कार्यालयले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई कामको गुणस्तर जाँचलगायतको कुराका लागि राय माग गरेपछि क्याम्पसका डाक्टर प्रदीपकुमार श्रेष्ठले प्रतिवेदन दिए पनि परिवर्तित डिजाइन तथा भेरिएसन स्वीकृत गर्न कोही तयार भएको देखिएन ।
महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा नियन्त्रक ओमप्रसाद रिजालका अनुसार डिजाइन परिवर्तन अगाडि स्वीकृत गराउन कोलेनिका रौतहटपछि परेकाले यस्तो समस्या आएको बताउनुभयो । स्वीकृत डिजाइनमा पाँचदेखि १५ प्रतिशतसम्म परिवर्तन देखिए महालेखा नियन्त्रक कार्यालयले डिजाइन तथा भेरिएसन स्वीकृत गर्ने कानुनी व्यवस्था छ । त्यही व्यवस्थाका कारण एक वर्षदेखि फाइल अड्किएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।
पाँच करोड ९९ लाख रुपियाँको लागत अनुमानको टेन्डरमा तीन करोड ६३ लाख २४ हजार ८७२ रुपियाँमा ठेक्का सकार गरेको सिनर्जी राजदेवीभक्त जेभीले करिब ९० प्रतिशत कार्य सम्पन्न गरेको छ । भेरिएसन स्वीकृत नभएकै कारण ठेकेदारले १० प्रतिशत काम अड्काएको छ ।
निर्माण कम्पनीका जयसवालका अनुसार भवन फिनिसिङ, बत्ती, पानीको काम मात्र बाँकी रहेकाले भेरिएसन स्वीकृत भएको दुई महिनाभित्र काम सम्पन्न हुने बताउनुभयो । महालेखा नियन्त्रक डाक्टर गणेशप्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीको म्याद तीन चोटि थप भइसकेको तथा आगामी वर्षमा यो भवन निर्माणका लागि बजेटसमेत नछुट्याइएकाले कानुनी प्रव्रिmया पूरा गरेर यसै आर्थिक वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।