वीरगञ्ज । वीरगञ्जमा शनिवार हनुमान (महावीर) जयन्तीको अवसरमा आयोजित शोभा यात्राको क्रममा छपकैया इदगाह चोकमा भएको झडपले स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम शनिवार साँझ ६:३० बजेदेखि आइतबार मध्यान्ह १२ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।
कर्फ्यु क्षेत्रको चार किल्ला पनि तोकिएको छ । पूर्वमा वीरगञ्ज महानगरपालिका-१५ को भेडियाही चोक, पश्चिममा वीरगञ्ज महानगरपालिका-२५ को सिर्सिया पुल, उत्तरमा वीरगञ्ज महानगरपालिका-१४ को गण्डक चोक र दक्षिणमा वीरगञ्ज महानगरपालिका-१६ को शङ्कराचार्य गेटसम्म कर्फ्यु क्षेत्रको चार किल्ला तोकिएको हो ।
कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। प्रशासनले शान्ति-सुरक्षा कायम राख्न यो आदेश जारी गरेको जनाएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार शोभा यात्रा छपकैया इदगाह चोक नजिक पुगेपछि विवाद सुरु भएको थियो । यात्रामा सहभागीहरूले फरक धर्मका व्यक्तिहरूले इदगाह चोकको एउटा भवनको छतबाट ढुंगामुढा गरेको दाबी गरेका छन् । “शान्तिपूर्ण धार्मिक गीत-सङ्गीतसहितको यात्रालाई ढुंगामुढा गरेपछि स्थिति बिग्रियो,” एक स्थानीयले बताए ।
ढुंगामुढापछि आक्रोशित सहभागीहरूले इदगाह चोकमा रहेका दुई होटेल तोडफोड गर्नुका साथै झन्डै आधा दर्जन मोटरसाइकलमा आगजनी गरेका थिए । झडपमा करिब डेढ दर्जन स्थानीय र सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेहरूको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कयौँ सेल अश्रुग्याँस प्रहार गरेको छ । घटनाको कारण र क्षतिको पूर्ण विवरण अझै स्पष्ट हुन बाँकी छ । प्रशासनले अनुसन्धान सुरु गरेको र स्थानीय बासिन्दालाई संयम अपनाएर शान्ति कायम राख्न आग्रह गरेको छ ।
समाचार तयार पार्दासम्म छपकैया क्षेत्रमा तनाव कायमै छ । प्रशासनले थप सुरक्षा व्यवस्था कडा बनाएको छ ।
