वीरगञ्ज । वीरगञ्जमा शनिवार हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको हिंसात्मक झडपले उत्पन्न तनाव समाधान गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार तेस्रो चरणको छलफल सुरु भएको छ ।
पहिलो चरणमा सर्वदलीय बैठक र दोस्रो चरणमा हिन्दु संघ–संस्थाका प्रतिनिधि र राजनीतिक दलहरूसँग छलफल भएको थियो । अहिले शनिवार भिडन्तमा संलग्न हिन्दु र मुस्लिम समुदायका अगुवाहरूबिच वार्ता जारी छ । बैठकमा भने सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाइएको छ ।
बैठकअघि प्रशासन परिसरमा केही समय तनावको स्थिति सिर्जना भएको थियो । एक पक्षले अर्को पक्षको विरोधमा बोलेपछि माहौल तनावग्रस्त बनेको थियो । यद्यपि, प्रहरीको तत्कालीन हस्तक्षेपले स्थिति नियन्त्रणमा आएको थियो ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको संयोजकत्वमा जारी वार्ताले सामाजिक सद्भाव पुनर्स्थापना र तनाव न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
आइतबारको पहिलो चरणको सर्वदलीय बैठकमा राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम राख्ने, घाइतेको निःशुल्क उपचार र दोषीमाथि कडा कारबाहीको माग गरेका थिए । दोस्रो चरणमा हिन्दु संघ–संस्थाका प्रतिनिधिहरूसँगको छलफलमा शोभा यात्राका क्रममा ढुंगामुढा गर्ने र हिन्दुहरूमाथि आक्रमण गर्नेहरूको पहिचान गरी कारबाही गर्न माग गरिएको थियो । अहिले तेस्रो चरणमा हिन्दु र मुस्लिम समुदायका अगुवाहरूबिचको वार्ताले शनिवारको घटनाको जडसम्म पुगेर समाधान खोज्ने प्रयास भइरहेको छ ।
बैठकअघिको तनावले दुवै समुदायबिच अविश्वासको वातावरण रहेको सङ्केत गर्छ । एक पक्षले अर्कोलाई दोषारोपण गर्ने क्रममा उत्पन्न तनावलाई प्रहरीले नियन्त्रणमा लिए पनि घटनाले वार्ताको जटिलतालाई उजागर गरेको छ । प्रशासनले दुवै पक्षलाई संयमित बनाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको आश्वासन दिएको छ ।
शनिवार छपकैया क्षेत्रमा शोभा यात्राका क्रममा दुई समुदायबिच भएको झडपले सहरमा तनाव फैलिएको थियो । “जय श्रीराम” लेखिएको झन्डा खोस्ने प्रयास र इदगाह चोकमा ढुंगामुढा प्रहारबाट सुरु भएको विवादले हिंसात्मक रूप लिँदा कम्तीमा ४३ जना घाइते भएका थिए । झडपका कर्ममा दुई बिरयानी पसल, तीन मासु पसल, एक औषधि पसल र केही निजी घरमा तोडफोड भएको थियो । आठ मोटरसाइकलमा आगजनी हुँदा लाखौँको सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १४५ राउन्ड अश्रुग्याँस र दुई राउन्ड हवाई फायर गरेको सिडिओ अर्यालले दाबी गरेका छन् ।
अर्को तर्फ कर्फ्यु कार्यान्वयनका क्रममा प्रहरीले चलाएको गोली लागेको वीरगञ्ज – १६ इनरवाका स्थानीय ६८ वर्षीय वृद्ध हरेन्द्र राउत अहिर घाइते भएका छन् । उनो वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार जारी रहेको अस्पतालका प्रवक्ता, डा. उदय नारायण सिंहले जानकारी दिए ।
प्रशासनले शनिवार साँझ साढे ७ बजेदेखि आज दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । यद्यपि कर्फ्यु आदेशलाई आइतबार राति १२ बजेसम्म कायम राख्ने प्रशासनले निर्णय गरेको छ । कर्फ्यु उल्लङ्घन गरेको आरोपमा आइतबार अपराह्नसम्म झन्डै तिन दर्जन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।
सामाजिक सञ्जालमा फैलिएका भ्रामक भिडियो र अफवाहप्रति सचेत रहन प्रशासनले अपिल गरेको छ ।
सामाजिक सञ्जालमा शनिवारको घटनाले व्यापक चर्चा पाएको छ । कतिपयले शोभा यात्रामाथि सुनियोजित आक्रमण भएको दाबी गरेका छन् भने कतिपयले साम्प्रदायिक तनाव भड्काउने प्रयासप्रति चिन्ता व्यक्त गरेका छन् । हिन्दु समाजले शनिवार साँझ पत्रकार सम्मेलनमार्फत घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको थियो ।
हिन्दु र मुस्लिम समुदायका अगुवाहरूबिचको वार्ता वीरगञ्जको सामाजिक सद्भाव र शान्ति पुनर्स्थापनाको दिशामा महत्त्वपूर्ण कदम मानिएको छ । प्रशासनले सबै समुदायलाई संयमित रहन र साम्प्रदायिक एकताको भावना आत्मसात् गर्न अपिल गरेको छ ।