काठमाडौं । पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको त्रिवेणी नगरपालिकाका तत्कालीन दुई निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नगरपालिकाको वडा नं. ५ स्थित किस्री खोला पुल निर्माण गर्दा चार लाख ३१ हजार ४८६ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दावी छ । आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा ट्रस पुल निर्माण गर्दा वास्तविक रुपमा फिल्डमा भएभन्दा नापी किताबमा बढी कार्य गरेको उल्लेख गरेर झुट्टा बिल बनाई भुक्तानी दिएको अख्तियारको आरोप छ ।
आयोजनाका लागि थप लागत अनुमानमा स्टिल ट्रसको परिमाण अस्वभाविक रुपमा बढाई भुक्तानीका लागि सिफारिस गरिएको, एउटा आइटम भनेर सस्तो प्रयोग गरेको, गुणस्तरहीन ग्याबिन जाली प्रयोग भएको र गलत भएको जान्दाजान्दै त्यसैलाई स्वीकृत गरेको लगायतका कमजोरी अख्तियारले औंल्याएको छ ।
‘मनासिव कारणबिना निर्माण कार्यको गुणस्तर कम गर्ने, आकार परिवर्तन गर्ने, निर्धारित सर्त तथा मापदण्डविपरित निर्माण कार्य गरी त्रिवेणी नगरपालिकालाई गैरकानुनी हानी नोक्सानी पुर्याउने बदनियतले चार लाख ३१ हजार ४८६ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी गरे/गराएको देखियो ।’ अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वय तीर्थराज थापामगर र खगेन्द्र साउदलाई प्रतिवादी कायम गरेको छ । थापामगरलाई दुई लाख ६ हजार ९३५ र साउदविरुद्ध दुई लाख २४ हजार ५५० रुपैयाँ बिगो मागदावी गरिएको छ । त्यस्तै, तत्कालीन इन्जिनियर नविन साउद र सवइन्जिनियर राजेन्द्र बहादुर विकविरुद्ध चार लाख ३१ हजार ४८६ रुपैयाँ संयुक्त बिगो कायम गरिएको छ ।
त्यस्तै, असिस्टेन्ट सवइन्जिनियर राजेन्द्र बहादुर साउद विरुद्ध पनि चार लाख ३१ हजार ४८६ रुपैयाँ नै बिगो अख्तियारले दावी गरेको छ । किस्री खोला ट्रस पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष जंग बहादुर बुढा, सचिव डम्म बहादुर बुढा र कोषाध्यक्ष तुली देवी बुढाविरुद्ध पनि संयुक्त रुपमा चार लाख ३१ हजार ४८६ रुपैयाँ बिगो दावी गरिएको छ ।