बारा, वैशाख २ गते । साना किसान कृषि सहकारी संस्था लिमिटेड गञ्जभवानीपुरले सहकारी नियम विपरीत सेवाग्राहीलाई लाखौँ रुपियाँ ठगी गरेको पीडितहरूले आरोप लगाएको छ ।
आफूहरूले उक्त सहकारीबाट लिएको ऋणको सावाँ ब्याज करिब ८५–९० प्रतिशतसम्म चुक्ता गरे पनि सहकारीको सञ्चालक महमद कमाल हुसेनले सहकारीको नियम २०७४ को दफा उलङ्घन गरी ५ वर्षको अवधिमा सावाँ भन्दा बढी ब्याज लिएको र ऋणको तेब्बर सावाँ बनाएर जग्गा लिलाम गर्न पत्र पठाएको पीडित रामाधारप्रसाद कानुले बताउनुभयो ।
यसै गरी एक लाखको सावाँ ब्याजको मासिक किस्ता १० हजारको दरले एक लाख बिस हजार रुपियाँ सहकारीमा जम्मा गरे पनि त्यसको कुनै भर्पाई आफूलाई नदिएको तथा एक लाखको ५ लाख सावाँ ब्याज बुझाउन ताकेता गर्दै आएको अर्को पीडित लक्ष्मिनिया देवी मालिनले बताउनु भयो ।
उहाँले रुँदै भन्यो, आफूले प्रधानमन्त्री बेरोजगारमा कमाएको पैसा राष्ट्रिय वाणिज्य बैङ्कबाट पाएपछि सोही ठाउँबाट सहकारीका कर्मचारीले नियन्त्रणमा लिएर सहकारी कार्यालयमा लगेर अभद्र व्यवहार गरेको बताउनुभयो । आफूले पाएको ३० हजार रुपियाँ ब्लाउजमा राखेका थिए । उनीहरूले मेरो ब्लाउजबाट बलजफती सो रकम निकालेर खाली हात घर पठाएको र कुनै प्रमाण, भर्पाई नदिएको आरोप लगाउनु भयो ।
यसै गरी आफूले डेढ लाख गरी दुई पटकमा तीन लाख लिएको ऋणको १५ पटकमा साढे छ लाख चुक्ता गरे पनि हालका दिनमा सो सहकारीले १० लाख अझ सावाँ ब्याज तिर्न ताकेता गर्दै आएको अर्को पीडित मञ्जु देवी कानुले जानकारी दिनुभयो ।
सहकारीले मलाई कुनै ठोस प्रमाण दिएको छैन तर, सो सहकारीको नगद कारोबारमा बस्ने निशा कुमारी तेलीलाई नगद रकम बुझाउँदा त्यसैले लेखेको सादा कागजको एउटा नगदी भर्पाई रहेको उहाँले भन्नुभयो । निशाले नगद रकम बुझे पनि नाम भर्पाई मा नलेखेर अरू कर्मचारीको नाम लेखेर दिएको प्रमाण सुरक्षित रहेको उहाँले बताउनु भयो ।
सो सहकारीको सञ्चालक कमाल हुसेनले ऋण दिँदा बलजफती बिमा गरिदिने, सेवाबापत लिएको ऋणको २५ प्रतिशत रकम पहिला नै कट्टा गर्ने गरेको उहाँले दाबी गर्नुभयो ।
अधिकांश ऋण लिएका सेवाग्राहीलाई पास बुक, स्टेटमेन्ट र नगद बुझ्ने कुनै ठोस प्रमाण नदिने गरेका छन् । आफूहरूले लिएको ऋणको सावाँ ब्याज बुझाउँदा सो सहकारीले सादा कागजमा सही गराउने गरेको पीडितहरूले आरोप लगाएका छन् ।
सहकारीको ऋणबाट कहिले मुक्ति पाउने आसमा हामीले नगरपालिकाको न्याय समिति र प्रहरी प्रशासन कलैयामा सामुदायिक रूपमा ३–४ वटा निवेदन जाहेरी दिए पनि राति सुत्दा आँखामा निद्रा नआउने गरेको पीडितहरूले बताएका छन् । महलुदन खातुन, मोसलम खातुन, राजेशप्रसाद कलवार, सहिद अन्सारी, साबिर अंसारीलगायतलाई सहकारीले ठगी गरेका छन् ।
यता हामीले कसैको हिसाब गडबड नगरेको तथा उल्टै उनीहरूले ऋण पचाउन विभिन्न जालझेल गर्दै आएको सहकारीको सञ्चालक कमाल हुसेनले भन्नुभयो ।
साना किसान कृषि सहकारी संस्था गञ्जभवानिपुरको हिसाब किताब धेरै नै गडबड देखिएकाले सेवाग्राही ऋणीसङ मिलेर सहमति गर्न आफूले सञ्चालक कमाल हुसेनलाई सल्लाह सुझाव दिएको जिल्ला सहकारी समन्वय समितिको अध्यक्ष मिश्रीलाल सहनीले जानकारी दिनुभयो ।
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तीन दिन भित्र सेवाग्राहीको हिसाब फर्छ्यौट नगरे सहकारी नियम अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने सञ्चालकलाई निर्देशन गरिएको बताउनुभयो ।