बर्दीबास । मौरी चरिचरनका लागि उर्वर क्षेत्र मानिएको महोत्तरीको जङ्गलमा प्रतिकूल परिस्थिति र जलवायु परिवर्तनको असरले मह उत्पादन घट्दै गएकोे छ ।
२०७९ सालमा दुई करोड मूल्य बराबरको चार सय क्विन्टल मह उत्पादन भएको महोत्तरीको जङ्गलबाट गत वर्ष घटेर ६० लाख मूल्य बराबरको १२० क्विन्टल मात्र उत्पादन भएको थियो । त्यो उत्पादनमा पनि कमी आई यस वर्ष केवल ३६ लाख मूल्य बराबरको ६० देखि ६५ क्विन्टलमा सीमित भएको चितवन–४, खैरिनीटारस्थित नवजागरण मौरीपालक कृषक समूहले जनाएको छ ।
मह उत्पादनका लागि उर्वर क्षेत्र मानिएको महोत्तरीका जङ्गलमा चितवन खैरेनीका किसानले २०६४ सालदेखि नै चरिचरनका लागि मौरीका घार लिएर आउने गरेका छन् । हरेक वर्षको माघ अन्तिम सातादेखि चैतसम्म मह सङ्कलन गर्ने र वैशाख पहिलो सातातिर चितवन फर्कने मौरी कृषकको तालिका रहेको छ ।
यस वर्ष ३५ देखि ४० हजार किलो मह सङ्कलन गर्ने लक्ष्यसहित खैरिनीका २७ किसान परिवारले दुई हजार मौरीका घार लिएर आउनुभएको छ । मह किसान आएपछि जिल्लाको उत्तरवर्ती बर्दीबास तथा गौशाला नगरपालिका अन्तर्गतका बारीबगैँचादेखि सागरनाथ वन विकाश परियोजनाको भिक्स (युक्लिप्टस) का जङ्गल मौरीको घारले भरिएको छ । बर्दीबासको बुद्धचोक, हात्तीलेट, गौशालाको रामनगर, स्टिल टावर, तारेचौरी, लक्ष्मीनियाका जङ्गली क्षेत्र र बारीबगैँचामा मह सङ्कलनका लागि राखिएका आगन्तुक माहुरीका सेता बाकसले भरिभराउ छन् । महोत्तरीको जङ्गलमा चैत लागेपछि भिक्स (युक्लिप्टस), रुदिलो, गुम्पाते, जामुनो, क्यामुनो, सिसौ जस्ता अनेकन जङ्गली वनस्पतिमा फूल फुल्ने हुँदा मह उत्पादनका लागि उर्वर मानिन्छ । वसन्त ऋतुसँगै यहाँका सहिजन, लिची र स्थानीय प्रजातिका फूल फूल्ने भएकाले मह कृषकको आकर्षण बढेको हो ।
अर्कोतर्फ बर्दीबास एरियाका जङ्गलमा भिक्स (युक्लिप्टस) का प्रशस्त रुख छन् । भिक्सको मह अर्गानिक र औषधीय गुण हुने भएकाले पनि यसको माग र आकर्षण बढ्दै गएको हो ।
अगुवा मौरी कृषक सुरेश बस्नेतका अनुसार विगत दुई वर्षदेखि रुखबिरुवामा पहिले झँै फूल फुल्न छाडेकाले यसको असर मह उत्पादनमा परेको हो । त्यसपछि सागरनाथ परियोजना र प्राकृतिक वनमा लागेको साता ब्यापी डढेलोले मौरीको चरीचरन प्रभावित भएपछि लक्ष्यबमोजिम मह उत्पादन हुन नसकेको उहाँको भनाइ छ । “वसन्त ऋतु रुख बिरुवामा ढकमक्क फूल फूल्ने मौसम हो । केही वर्षदेखि युक्लिपटसलगायत जङ्गली वनस्पतिमा पहिले झैँ पर्याप्त फूल देखिँदैन,” उहाँले भन्नुभयो, “फूलमै कमी आएपछि मह उत्पादन पनि घट्ने भइहाल्यो ।”
बर्दीबासस्थित चुरे उत्थानशील आयोजना प्रदेश आयोजना व्यवस्थापन एकाइका संयोजक सुनील गुप्ताले फूल, मौरी र मह जस्तै वन, वातावरण र जलवायुबिच अन्योन्याश्रित सम्बन्ध भएको बताउनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनले स्थानीय वातावरण खलबलिएको छ । वनस्पतिमा फूल लाग्न जमिनमा चिस्यान चाहिन्छ । त्यसका लागि हिउँदे वर्षा हुनु जरुरी छ । विगत दुई वर्षदेखि हिउँदयाममा वर्षा भएको छैन । “यसले गर्दा जमिनमा चिस्यान छैन । मौसमी तापव्रmम बढेको छ,” उहाँले भन्नुभयो, “बोटबिरुवाका लागि २५ देखि बढीमा ३५ डिग्रीभन्दा बढी तापव्रmम हुनु हुँदैन । यो बढेर ३८ देखि ४० पुग्न लागेको छ ।”
जलवायु परिवर्तनले हिउँदे वर्षा नुहँदा जमिन रुखो भएर फूल कम फुलेको गुप्ता बताउनुहुन्छ । “यसले मौरीको चरिचरन प्रभावित भयो । अनि मह उत्पादनमा स्वतः कमी हुने नै भयो,” उहाँले भन्नुभयो ।