वीरगन्ज । वीरगन्जको सिमावर्ती भारतीय शहर रक्सौल नजिकको सिरिसिया गाँउमा पोल्ट्री फार्मको आडमा अवैध रुपमा सञ्चालित हतियार बनाउने उद्योगमा भारतीय प्रहरीले छापा मारेर ठूलो परिमाणमा पेस्तोल,बन्दुक,गोली लगायतका हतियार बरामद गरेको छ । अवैध हतियार उद्योग चलाउने चार जना पक्राउपनि परेका छन् ।
मोतिहारीका एसपी स्वर्ण प्रभातको आदेशमा एसडिपीओ धिरेन्द्र कुमारको नेतृत्वमा खटिएको भारतीय प्रहरीको टोलीले शुक्रबार बिहान रक्सौल र रामगढवाको बीचमा पर्ने पलनवा थान अन्तर्गतको सिरिसिया गाँउमा रहेको पोल्ट्री फार्ममा छापा मारेको थियो । त्यसक्रममा उक्त पोल्ट्री फार्मभित्र सञ्चालित हतियार बनाउने उद्योग भेटिएको हो ।
१२ घण्टाको निरन्तर छापामारीका क्रममा उक्त हतियार उद्योगबाट कंट्री मेड कार्बाइन १ थान,देवी पेस्तोल ३ थान, ९ एमएमको गोली ४३ थान,३.५ बोरको गोली ३१ थन, ७.६२ बोरको गोली ९ थान, खोखा २ थान , देशी सिक्सर पेस्तोल १ थान ,अर्धनिर्मित पेस्तोल बडी ६ थान ,स्लाइडिंग १९ थान ,म्याजिन २० थान,स्प्रिंग ६ थान, नेम पन्चिंग १०५ थान, ड्रिल मेशीन ३ थान ,वेल्डिंग मेसीन १ थान , तलवार १ थान लगायतका सामानहरु बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ ।
भरतीय प्रहरीले उक्त हतियार उद्योगका मुख्य सञ्चालक पंकज सिंह र उनका बुबा राजेश्वर सिंहलाई सुरुमा नियन्त्रणमा लिएको थियो । त्यसपछि उनिहरुले दिएको बयानका आधारमा मुगेर र छपरा खटिएको भारतीय प्रहरीको विशेष टोलीले छपराबाट अभिताभ शर्मा र मुंगेरबाट नौयर आलमलाईपनि नियन्त्रणमा लिएको एसपी स्वर्ण प्रभातले जानकारी दिए ।
छापमारीमा एसडीपीओ धीरेंद्र कुमार, पलनवाका थानाध्यक्ष सीता केवट, भेलाही थानाध्यक्ष शाहरुख , रामगढ़बा थानाध्यक्ष अमरजीत कुमार, छपराको परसवा थानाध्यक्ष सुनील कुमार लगायतको प्रहरी टिम खटिएको थियो ।