रौतहट । रौतहटमा एक विवाहित महिलाको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीको निष्क्रियता र मिलोमतोको आरोप लगाउँदै पीडित पक्षले न्यायिक छानबिनको माग गरेका छन् ।प्रहरीले किटानी जाहेरी लिन मानेन | मृतक अल्का ठाकुरका परिवारले शुक्रबार गरुडामा पत्रकार सम्मेलन गरी घटना रहस्यमय भएको र प्रहरीले सत्यतथ्य ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन् ।
रौतहटको गढीमाई नगरपालिका–४, संग्रामपुर निवासी रामकिशोर ठाकुरले गत वैशाख १ गते छोरीको अवस्था नाजुक भएको सूचना फोनमार्फत पाएको बताउँदै घटनाबारे जानकारी गराए ।ठाकुरले छोरी अल्काको शव पंखामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी आफन्तमार्फत पाएको बताए ।
अल्काको विवाह २०७६ साल जेठ ५ गते रौतहटकै दुर्गा भगवती गाउँपालिका–३, मत्सरीका सञ्जीव झासँग भएको थियो। ठाकुरका अनुसार प्रेम सम्बन्धका कारण घरबाट भागेपछि विवाह गरिएको थियो । विवाहमा दाइजो नलिने सहमति भए पनि झन्डै २२ लाख रुपैयाँ खर्च गरिएको र पछि गाडी किन्न भन्दै साढे ३ लाख रुपैयाँ पनि ज्वाइँलाई दिइएको उनले बताए ।
ठाकुरले अल्काका श्रीमान् सञ्जीव गत वर्ष जापान जाँदा ७ लाख रुपैयाँ सहयोग गरेको पनि खुलासा गरे । विवाहपछि ६ वर्षसम्म पनि वैवाहिक सम्बन्ध दर्ता नभएको र पारिवारिक सम्बन्ध खासै सुमधुर नभएको गुनासो गरे
मृतकका अभिभावकका अनुसार शव फेला परेपछि उनीहरू घटनास्थल पुगेका थिए, जहाँ प्रहरी परिचालन गरी सुरक्षा घेरा बनाइएको थियो ।
‘हामीले शव गौरमा पोस्टमार्टम नगरी काठमाडौँ लैजान माग गरेका थियौं, त्यो माग त पूरा भयो तर काठमाडौँबाट ल्याएपछि हाम्रो छोरालाई शव नदिई जबरजस्ती झा परिवारलाई बुझाइयो’, ठाकुरले गुनासो गरे ।
मृतककी आमा अनिताकुमारी ठाकुरका अनुसार माइती पक्षले शव सद्गतिमा लैजान खोज्दा प्रहरीले लाठी चार्ज गरेको थियो । ‘हाम्रो उजुरी लिन प्रहरी तयार छैन, फोटो खिच्न पनि दिएन’, पत्रकार सम्मेलनमा अनिताले रुँदै भनिन् ।
सो प्रकरणमा जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले घटना गम्भीर भएको स्विकार्दै अनुसन्धान भइरहेको दाबी गरे । ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्र जाहेरी दर्ता हुन्छ’, भने, ‘ हामी अनुसन्धानमा छौँ ।’
पीडित पक्षले प्रहरी झा परिवारसँग मिलेर घटनालाई आत्महत्या ठह¥याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । ‘यो हत्या हो, हामी न्यायको माग गरिरहेका छौं तर प्रहरीले नै अन्याय गरिरहेको छ’, मृतकका बुबा रामकिशोर ठाकुरले भने ।
कानुनविद् एवम् अधिवक्ता विजय यादवका अनुसार शंकास्पद मृत्युका घटनामा प्रहरीलाई उजुरी लिने कानुनी दायित्व हुन्छ । प्रारम्भिक उजुरी नलिनु कानुनको उल्लंघन हो । पीडित परिवारले छोरीको मृत्यु रहस्यमय भएको, विवाहको कानुनी प्रक्रिया पूरा नगरिएको, आर्थिक शोषण भएको र अब प्रहरीबाट न्यायको आशा गर्न नसकिने अवस्था आएको भन्दै न्यायिक छानबिनको माग गरेका छन् ।