वीरगञ्ज । नेपाल मुस्लिम समाज संघ पर्साले हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको झडप र त्यसपछिका घटनाक्रमलाई लिएर आफूलाई सङ्घको अध्यक्ष दाबी गर्ने जफर अन्सारीले विभिन्न सञ्चारमाध्यममार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर असहमति जनाउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ ।
सङ्घका अध्यक्ष मोहम्मद महबुब अली (शेरू आलम)द्वारा हस्ताक्षरित विज्ञप्तिमा जफर अन्सारीको अभिव्यक्ति पूर्ण रूपमा व्यक्तिगत भएको र उनको भनाइले मुस्लिम समुदायको कुनै प्रतिनिधित्व नगर्ने स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “जफर अन्सारी नेपाल मुस्लिम समाज संघ पर्साका अध्यक्ष होइनन्, र उनको अभिव्यक्तिसँग मुस्लिम समुदायको कुनै सरोकार छैन ।”
हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा आयोजित शोभा यात्राका क्रममा भएको झडपले स्थानीय स्तरमा तनावको स्थिति सिर्जना भएको थियो । घटनापछि विभिन्न पक्षबाट मिडिया र सामाजिक सञ्जालमा प्रतिक्रियाहरू आइरहेका छन् । यही सन्दर्भमा जफर अन्सारीले आफूलाई नेपाल मुस्लिम समाज सङ्घको अध्यक्ष बताउँदै मिडियामा दिएको अभिव्यक्तिले थप विवाद निम्त्याएको देखिन्छ ।
हनुमान जयन्तीको घटनाक्रमलाई लिएर अन्सारीले आफूलाई मुस्लिम संघ पर्साका अध्यक्ष बताउँदै एभिन्यूज टेलिभिजनमा दिएको एक अन्तर्वार्तामा घटनालाई हिंसात्मक बनाउन वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोककुमार वैध, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र मित्रराष्ट्र भारतको प्रतिष्ठित संस्था (राष्ट्रिय स्वयम् सेवक संघ) समेत हात रहेको भन्ने अभिव्यक्ति दिएका थिए ।
अन्सारीको अभिव्यक्ति पश्चात् स्थानीय आक्रोशित भएका छन् भने जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादव र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले प्रेस विज्ञप्ति नै जारी गरेर अन्सारीले सार्वजनिक रूप मै माफी माग्नु पर्ने माग गरेका छन् ।
नेपाल मुस्लिम समाज सङ्घले जफर अन्सारीको दाबी र उनको अभिव्यक्तिलाई अस्वीकार गर्दै उनको कुनै पनि भनाइले समुदायको आधिकारिक धारणा नरहेको प्रस्ट्याएको छ । विज्ञप्तिमा भविष्यमा यस्ता विषयमा कुनै व्यक्तिले मिडिया वा सार्वजनिक मञ्चमा गैरजिम्मेवार अभिव्यक्ति दिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंको हुने चेतावनीसमेत दिइएको छ ।
सङ्घले विज्ञप्तिमार्फत समुदायमा शान्ति र सद्भाव कायम राख्न सबै पक्षलाई अपिल पनि गरेको छ । अध्यक्ष मोहम्मद महबुब अलीले सामाजिक एकता र सहिष्णुतालाई प्राथमिकता दिँदै यस्ता संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्तिबाट टाढा रहन आग्रह गरेका छन् ।
वीरगञ्जका स्थानीय बासिन्दाहरूले विज्ञप्तिलाई स्वागत गर्दै समुदायबिचको सम्भावित गलतफहमी हटाउन सङ्घको कदम सकारात्मक भएको बताएका छन् । एक स्थानीय बासिन्दाले भने, “यस्ता संवेदनशील समयमा गलत सूचना र व्यक्तिगत अभिव्यक्तिले तनाव बढाउन सक्छ । सङ्घको स्पष्टीकरणले स्थिति नियन्त्रणमा राख्न मद्दत गर्नेछ ।”
