‘सितारे जमीन पर’ फिल्मले फेरि चर्चा बटुलिरहेका अभिनेता आमिर खान बारे पछिल्लो समय चासो बढेको छ। बायोपिक फिल्ममा उनी मुख्य भूमिकामा देखिने चर्चा चलिरहेका बेला अब भने उनी उक्त प्रोजेक्टबाट बाहिरिएको खबर सार्वजनिक भएको छ।
निर्माता दिनेश विजनले उज्ज्वल निकमको भूमिकाका लागि राजकुमार रावलाई प्राथमिकतामा राख्दै कास्टिङ प्रक्रिया अघि बढाएका छन्। राजकुमारले हालै ब्लकबस्टर फिल्ममा अभिनय गरेका थिए, जसका कारण पनि उनी विजनको पहिलो रोजाइमा परेका हुन्।
कमेडी–हररमा पकड बनाएका विजन अब बायोपिकमा
कमेडी र हरर फिल्ममार्फत फरक शैली प्रस्तुत गरेका निर्माता दिनेश विजन बलिउडमा परिचित नाम हुन्। स्त्री, भेडिया, रुही लगायतका फिल्ममार्फत उनले दर्शकको मन जितेका छन्।
तर अब उनी बायोपिक शैलीमा पनि आफुलाई स्थापित गर्न लागिरहेका छन्। हालै रिलिज भएको ‘स्काई फोर्स’ फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेपछि, उनले अर्को महत्वाकांक्षी प्रोजेक्टको तयारी गरिरहेका छन् ।
आमिर खानको ठाउँमा राजकुमार राव
उज्ज्वल निकम एक चर्चित सरकारी वकिल हुन्, जसले भारतमा थुप्रै हाई–प्रोफाइल मर्डर केस र आतंकवादी मामिलामा वकालत गरेका छन्।
गएको वर्षदेखि नै उज्ज्वल निकमको बायोपिकबारे मुम्बईमा चर्चा चलिरहेको थियो। सुरुमा आमिर खानलाई उक्त भूमिकाको लागि प्रस्ताव गरिएको थियो। आमिरले फिल्मका लागि सकारात्मक प्रतिक्रिया दिएका थिए, तर हाल उनले यो प्रोजेक्टबाट नाम फिर्ता लिएको रिपोर्ट सार्वजनिक भएको छ।
अब भने निर्माता विजनले ‘स्त्री’ अभिनेता राजकुमार रावसँग कुराकानी गरिरहेका छन्। स्रोतका अनुसार हालसम्म सबै कुरा सकारात्मक ढंगले अघि बढिरहेको छ।
राजकुमारको व्यस्तता फिल्मको रोचक मोड
यद्यपि, एक सानो बाधा भने छ—राजकुमार हाल निर्देशक विक्रमादित्य मोटवानीको अपकमिंग फिल्ममा व्यस्त छन्। उक्त फिल्ममा उनले एक खेलाडीको भूमिका निर्वाह गर्नेछन्, जसका लागि उनलाई शारीरिक फिटनेसदेखि अभिनय तयारीसम्म विशेष मेहनत गर्नुपर्ने छ।
अब हेर्न बाँकीयो छ की राजकुमार रावले दिनेश विजनको यो बायोपिकका लागि समय दिन सक्नेछन् कि सक्दैनन्।