वीरगन्ज । पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले विद्यार्थी भर्ना अभियान २०८२ लाई सफल बनाउन पालिका अन्तर्गतको सम्पूर्ण शिक्षकहरुलाई आग्रह गरेका छन् ।
आईतबार सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक ‘अपिल’ जारी गर्दै उनले ज्ञानको ज्योति बाल्ने यस महान अभियानमा आ–आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न आग्रह गरेका छन् ।
उनले आन्दोलनरत शिक्षक महासंघको आन्दोलनमा उठेका जायज मांग प्रति पालिकाको समर्थन रहेको भन्दै बालबालिकाहरुको मौलिक अधिकार हनन नहुनेगरी भर्ना अभियान २०८२ सफल बनाउन आग्रह गरेका हुन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विद्यालय शान्ति क्षेत्रको रूपमा रहेकोले आज ८ गते देखि आगमी १५ गतेसम्म भर्ना अभियान २०८२ सञ्चालन गरी नागरिक तथा बालबालिकाहरुको अधिकार सुनिश्चित गर्न पनि अनुरोध गरेका हुन् ।
उनले अभियानलाई प्रभावकारी बनाउन विगतमा जस्तै सरकारी तथा गैरसरकारी क्षेत्र, राजनीतिक दल, सामाजिक सङ्घसंस्था एवं उद्योगी, व्यवसायी, अभियन्ता, शिक्षक, विद्यार्थी, अभिभावक, राष्ट्रसेवक, जनप्रतिनिधिसहित सिङ्गो नेपाल परिचालित हुनुपर्ने आवश्यकता औंल्याए ।
शैक्षिक सत्र ०८२ का लागि सञ्चालन भइरहेको विद्यार्थी भर्ना अभियानबाट विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट वञ्चित नहुने अवस्था सिर्जना गरिनुपर्नेमा जोड दिँदै अध्यक्ष गुप्ताले विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय शिक्षाको अवसर सुनिश्चित गर्न र शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि विद्यार्थी भर्ना अभियान महत्वपूर्ण ढोका भएको बताए ।
यस वर्षको विद्यार्थी भर्ना अभियानसँगै सामुदायिक विद्यालय सुधार तथा रुपान्तरणको अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई अभियानकै रुपमा विद्यालयमा प्रवेश गराउने कार्यक्रमका रुपमा विसं २०६१ देखि प्रत्येक वर्ष वैशाखदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदै आएको छ ।