रौतहट । आधुनिक कृषियन्त्रको उपलब्धता र प्रयोगले मकै खेती गर्ने किसानलाई ठुलो राहत पुगेको छ । वैशाख सुरु भएसँगै बेला बेलामा वर्षा हुन थालेपछि मकै भाँच्न सुरु गरेका किसानलाई पाकेका अगौटे मकै भित्र्याउन चटारो परेको अहिलेको अवस्थामा घोगासहितको मकै छोडाउने कृषियन्त्रको प्रयोगले ठुलो राहत मिलेको छ ।
अधिक वर्षा भए मकै बिग्रेला भन्ने डरले मौसमको मौका छोपी किसानले ट्याक्टरमा जडित आधुनिक मकै छोडाउने कृषियन्त्रको प्रयोगले छिटोछरितो ढङ्गबाट मकै थन्क्याउन पाएका छन् । समयमै मल, बिउ तथा सिँचाइको उपलब्धताले मकै उत्पादन राम्रो भएको चन्द्रपुर–४ का किसान गुरु तिमल्सिनाले बताउनुभयो । उहाँले एक बिघा जमिनमा हाइब्रिड मकैको खेती गर्नुभएको छ । मकै भित्र्याइसकेपछि धान खेतीका लागि जमिन तयार गर्नुपर्ने हतार पनि छ, उहाँलाई ।
गाउँमा कृषि मजदुर पाउन छाडेपछि यहाँका किसान मकै छोडाउने आधुनिक कृषियन्त्रको प्रयोग गरी समयमै बाली भित्र्याउन हतारिन्छन् । वृन्दावन नगरपालिका बलेरीका किसान रामलाल वाइबा भन्नुहुन्छ, “मौसम कतिबेला परिवर्तन हुन्छ थाहा हुँदैन । पानी धेरै परेमा खेतमै घोगा बिग्रने सम्भावना हुन्छ ।
यस्तो अवस्थामा छिटो मकै नङ्ग्याउन र छोडाउन आधुनिक कृषियन्त्रले निकै राहत पुर्याएको छ । उहाँका अनुसार यन्त्रको प्रयोगले कृषि मजदुरको अभाव धेरै हदसम्म पूरा गरेको छ । छिटोछरितो र मितव्ययी हुने भएकाले मकै छोडाउन कृषियन्त्र अति नै उपयोगी साधन बनेको छ । यन्त्रले प्रतिघण्टा १० क्विन्टल मकै छोडाउँछ ।
गुजरा नगरपालिका मैराका किसान सहदेव सापकोटाका अनुसार खोस्टासहितका मकैका घोगा मेसिनमा हालेपछि खोस्टा र खोया एकातिर, मकैका दाना अर्कातिरबाट निस्कन्छ । जसले गर्दा समय र पैसाको बचत हुन्छ । कृषि जनशक्तिको प्रयोग गर्दा समय अधिक लाग्ने, खर्चिलो र झन्झटिलो हुने भएकाले पनि कृषियन्त्रको प्रयोग बढेको हो । जिल्लाको उत्तरी क्षेत्रमा मकै छोडाउने त्यस्ता यन्त्र भाडामा जतिबेला पनि उपलब्ध हुन्छन् ।
रौतहटको उत्तरी क्षेत्र वृन्दावन, गुजरा, चन्द्रपुर नगरपालिकाका खेतीयोग्य जमिनमा अगौटे ‘हाइब्रिड’ मकैको खेती अधिक गरेको पाइन्छ । पहाडिया समुदायको बाहुल्य रहेको क्षेत्रमा मकै खेतीलाई पहिलादेखि नै महत्व दिइन्थ्यो । मकै खेतीबाट आम्दानी राम्रो हुन थालेपछि पछिल्लो समयमा मधेशी समुदायमा पनि यसको खेती विस्तार हुँदै गएको छ ।
कृषि ज्ञान केन्द्र रौतहटका निमित्त प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले एक दशकअघिसम्म खाद्यान्न परिपूर्तिका लागि मात्र मकै खेती गरिने गरेकामा हाल नगदेबालीका रूपमा व्यावसायिक खेती गरिएको बताउनुभयो । अहिले रौतहटमा चार हजार नौ सय हेक्टर जमिनमा मकै खेती गरिन्छ । प्रतिबिघा कम्तीमा ४० क्विन्टल मकै उत्पादन हुन्छ ।