काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलहरूप्रति लक्षित गर्दै देशको नेतृत्व गर्ने जिम्मा दिन नसकिने बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गाडी चलाउन नजान्ने ड्राइभरलाई चलाउने जिम्मा दिन नसकिने उनको तर्क छ । उनले राजनीति गर्नेहरूले राजनीति गर्न नहुने र राजनीति गर्न नजान्नेलाई राजनीति गर्न दिनुपर्ने कुरा नसुहाउने बताए । उनले राजनीति बुझेका व्यक्तिलाई राजनीतिक डुंगा चलाउन नदिँदा डुंगा डुब्ने खतरा रहेको बताए ।
उनले नेकपा एमालेलाई महाप्रलयका साथ हमला गर्दा पनि एमाले माथि उठेर देशको प्रमुख राजनीतिक दल भएको बताए । प्रमुख पार्टीका रुपमा आइसकेपछि पनि एमालेलाई नबुझेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भने ‘नेकपा एमाले यस्तो शक्ति हो । एउटा त यस्तो महाप्रलयका साथ हमला गर्दा सकिएन त । प्रमुख पार्टीको रुपमा आयो त बुझ्नु पर्दैन अझै । अझै पनि ट्याईं ट्याईं गर्छन् । भुँइफुट्टाहरुले । राजनीति कसरी गर्न खोजेका छन्, देख्नुभएन । राजनीति गर्नेहरूले राजनीति गर्न हुँदैन अरे । माझीलाई डुंगा चलाउन नदिने, म चलाउँछु भनेर बगाइदिने, घोप्टाइदिने, डुबाइदिने । ड्राइभरलाई गाडी चलाउन नदिने, सिक्दै नसिकेका मान्छे आएर यसले चलाएन, यो बुढो ड्राइभर, यसले पहिलेदेखि चलाएको छ । यो २० वर्ष भयो चलाएको कहाँ पाउँछ, म अब सिटमा बसेर चलाउँछु भन्छ । कहिल्यै चलाएको छैन । त्यसले के हुन्छ ? त्रिशूलीमा खसाल्दैन । त्रिशूलीमा पुर्याउँदै, पुर्याउँदैन यहीँ पर्तिर खसालिहाल्छ नि । यस्ताहरूलाई जिम्मा दिन सकिन्छ ? जसले मेसिन चलाएको छैन, उसले मेसिन चलाउने, सेफलाई खाना बनाउन नदिने, अनि अनाडी कहिल्यै आमाले बनाएको चिया बाहेक आफूले एक कप चिया बनाएर पनि नखाएकोले म खाना बनाएर खुवाउँछु भनेर चामल पनि डँडाउँछ, दाल पनि तरकारी पनि डँडाउँछ । नुन हाल्दैन, बेसार नै बेसार बनाउँछ । काम लाग्छ ? नयाँ पनि हामीले देख्यौँ ।’
प्रधानमन्त्री ओलीले राजनीति कसरी गरिरहेका छन् भन्नेकुरा मनन गर्न पार्टीका नेता/कार्यकर्ताहरूलाई आग्रह गरे ।