वीरगञ्ज । वीरगञ्जमा आफ्नै १४ वर्षीय नाबालिग छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक ४१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका – १४ चिनिमिल आवास क्षेत्र निवासी हाल सेक्युरिटी गार्डको रूपमा कार्यरत रहेको व्यक्तिले आफ्नै १४ वर्षीय नाबालिग छोरीमाथि जबरजस्ती करणी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार, पक्राउ परेका व्यक्तिले आफ्नी जेठी श्रीमतीपट्टिको १४ वर्षीय नाबालिग छोरीलाई आफ्नै कोठामा पटक–पटक जबरजस्ती करणी गरेको खुलासा भएको छ । पीडित बालिकालाई कोही कसैलाई घटनाबारे बताएमा उनले ज्यान मार्ने धम्कीसमेत दिइएको प्रहरीले जनाएको छ ।
घटनाबारे पीडित बालिकाकी आमाले वैशाख ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता गराएकी थिइन् । जाहेरीमा उल्लेख भएअनुसार, आरोपितले आफ्नै कोठामा बालिकामाथि जबरजस्ती करणी गरेको र विगतमा पनि यस्ता घटना दोहोरिएको उल्लेख छ ।
जाहेरीका आधारमा प्रहरीले तत्काल कारबाही अगाडि बढाउँदै आरोपितलाई निजकै कोठाबाट नियन्त्रणमा लिएको डिएसपी लम्सालले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी लम्सालले बताए । आरोपितमाथि नेपालको मुलुकी अपराध संहिता, २०७४ को जबरजस्ती करणीसम्बन्धी दफा अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।
घटनाले समाजमा गम्भीर नैतिक र सामाजिक प्रश्नहरू उब्जाएको छ । आफ्नै छोरीमाथि यस्तो जघन्य अपराध गर्ने व्यक्तिको मनोविज्ञान र यस्ता घटनालाई रोक्न समाजले खेल्नुपर्ने भूमिकाबारे स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । वीरगञ्ज महानगरपालिका – ११ निवासी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर-मुरलीका अध्यक्ष रामकुमार सर्राफले घटनाले हाम्रो समाजको नैतिकता र पारिवारिक मूल्यमान्यतामाथि गम्भीर प्रश्न उठाएको बताए । उनले यस्ता अपराध रोक्न कडा कानुनी कारबाहीसँगै सामाजिक जागरूकता पनि आवश्यक रहेको औँल्याएँ ।
घटनाले नबालिका बालिकाहरूको सुरक्षाको विषयलाई पनि पुनः सतहमा ल्याएको छ । पर्सा जिल्लामा बालिका र महिलामाथि हुने हिंसाका घटनाहरू समय–समयमा सार्वजनिक हुने गरेका छन् । अधिकारकर्मीहरूले यस्ता घटनालाई न्यूनीकरण गर्न परिवार, समाज र सरकारको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् । सर्राफले भने, “बालिकाहरूलाई घरभित्रै असुरक्षित महसुस गर्नुपर्ने अवस्था अत्यन्तै दुखद छ । यस्ता अपराधीलाई कडा सजाय हुनुपर्छ र बालिका संरक्षणका लागि प्रभावकारी नीति लागू गर्नुपर्छ ।”
जिल्ला प्रहरी कार्यालय पर्साले घटनालाई गम्भीरतापूर्वक लिएको र पीडित बालिकालाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेको छ । डिएसपी लम्सालले तत्काल कारबाही सुरु गरिएको र अनुसन्धान निष्पक्ष र पारदर्शी ढङ्गले अगाडि बढिरहेको बताए ।