भारतीय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरलाई आतङ्कवादी समूह ‘आइएसआइएस कश्मीर’ले ज्यान मार्ने धम्की दिएको छ ।
भारतीय जनता पार्टी (भाजपा) का पूर्व सांसद समेत रहेका गम्भीरलाई जम्मू र कश्मीरको पहलगाममा हालै भएको आतङ्कवादी आक्रमणपछि धम्की आएको हो । भारतको समाचार संस्था इन्डिया टुडेको एक समाचारअनुसार, गम्भीरलाई इमेलमार्फत धम्की प्राप्त भएको थियो । धम्कीमा लेखिएको थियो, “म तिमीलाई मार्छु ।”
धम्कीपछि गम्भीरको कार्यालयले दिल्ली प्रहरीमा सम्पर्क गरी औपचारिक उजुरी दर्ता गरेको छ । गम्भीरले आफ्नो परिवारको सुरक्षाका लागि आवश्यक कदम चाल्न प्रहरीसँग अनुरोध गरेका छन् ।
समाचार एजेन्सी एएनआईले गम्भीरको कार्यालयलाई उद्धृत गर्दै भनेको छ, “पूर्व भाजपा सांसद तथा भारतीय क्रिकेट टोलीका वर्तमान मुख्य प्रशिक्षक गौतम गम्भीरलाई ‘आइएसआइएस कश्मीर’बाट ज्यान मार्ने धम्की प्राप्त भएको छ । बुधवार उनले दिल्ली प्रहरीमा उजुरी दर्ता गरी आफ्नो परिवारको सुरक्षाका लागि आवश्यक उपाय अपनाउन अनुरोध गरेका छन् ।”
गम्भीरलाई पहिलो पटक भने यस्तो धम्की आएको होइन । सन् २०२१ को नोभेम्बरमा सांसद रहेकै समयमा सोही प्रकारले इमेलमार्फत उनलाई यस्तै धम्की आएको थियो । त्यस बेला पनि उनले प्रहरीमा उजुरी दर्ता गरेका थिए ।
जम्मू-कश्मीरको पहलगाममा मङ्गलवार भएको आतङ्कवादी आक्रमण एक जना नेपाली नागरिक बुटवलका सुदीप न्यौपानेसहित २६ जनाले ज्यान गुमेका छन् । घटनापछि गम्भीर खेल क्षेत्रबाट बोल्ने पहिलो व्यक्तिमध्ये एक थिए । उनले सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै भने घटनाका जिम्मेवार व्यक्तिहरूलाई भारतले जवाफ दिने भनेका थिए ।

गौतम गम्भीर हालै आफ्नो परिवारसँग फ्रान्समा छुट्टी मनाएर फर्किएका छन् । मार्चमा भारतले च्याम्पियन्स ट्रफी जितेपछि उनले खासै सार्वजनिक कार्यक्रममा भाग लिएका छैनन् । हाल इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ चलिरहेको समयमा राष्ट्रिय टोलीका प्रशिक्षकहरूले सामान्यतया विश्राम लिने गर्छन् । गम्भीरलाई गत वर्ष जुलाईमा भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो । उनले विश्वकप विजेता प्रशिक्षक राहुल द्रविडको स्थान लिएका थिए ।
गम्भीरको उजुरीपछि दिल्ली प्रहरीले अनुसन्धान सुरु गरेको छ । धम्कीको स्रोत पत्ता लगाउन र गम्भीर तथा उनको परिवारको सुरक्षाका लागि आवश्यक कदम चाल्ने प्रहरीले जनाएको छ । यस्ता धम्कीहरू आतङ्कवादी समूहहरूले प्रचार र त्रास फैलाउन प्रयोग गर्ने रणनीति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
गौतम गम्भीरले क्रिकेटरको रूपमा भारतलाई सन् २००७ को टी–२० विश्वकप र सन् २०११ को एक दिवसीय विश्वकप जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए । खेलबाट संन्यास लिएपछि उनले राजनीतिमा प्रवेश गरे र सन् २०१९ मा भाजपाबाट पूर्वी दिल्लीको सांसद बने । हाल उनी भारतीय क्रिकेट टोलीको प्रशिक्षकको रूपमा कार्यरत छन् र टोलीलाई नयाँ उचाइमा पुर्याउन सक्रिय छन् ।
घटनाले खेलकुद र राजनीतिका क्षेत्रमा चर्चित व्यक्तिहरूमाथि हुने खतराहरूलाई पुनः उजागर गरेको छ । गम्भीरका समर्थकहरूले सामाजिक सञ्जालमा उनको सुरक्षाको माग गर्दै सरकार र प्रहरीलाई तत्काल कदम चाल्न आग्रह गरेका छन् ।