काठमाडौं । काठमाडौं उपमहानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत भएको बताएकी छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको युथ सेलिब्रेशन कार्यक्रममा बोल्दै डङ्गोलले नेपाली युवा सबैभन्दा माथि राष्ट्र भनेर एकजुट भएको बताइन् ।
‘जब जब युवा एकजुट हुन्छन् तब तब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्, सफलता उनीहरूले नै पाउँछन्, जसले कहिल्यै हार मान्दैन’, उनले भनिन् । अहिले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताउँदै उनले जति आक्रमण भए पनि विचलित नहुने बताइन् । आफूले गरेको राम्रो काम देख्न नसक्नेहरूले आफूमाथि निरन्तर आक्रमण गरिरहेको उनले बताइन् । ‘विकासका काम गर्नेमाथि आक्रमण गर्नेहरू राष्ट्र विरोधी तत्त्वहरू हुन्’, उनले भनिन् ।
नेपाली युवाले काम गर्न सक्छ भन्ने कुरा आफूले विश्व सामु प्रस्तुत गरेको उनले दाबी गरिन् । आफूले गरेको कामले धेरैलाई पोलेको र उनीहरू आफूमाथि निरन्तर आक्रमणमा लागि रहेका उनले स्पष्ट पारिन् । ‘म रोकिन्न, म रोकिने मान्छे होइन, म मेरो सहर र मेरो देशको लागि काम गरिरहन्छु’, उनले भनिन् ।
एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उनीमाथि आक्रमण भइरहेको उनले बताइन् । भूकम्पले थिलथिलो भएको देशलाई उठाउने केपी ओलीलाई सम्मान गर्नुको बदला राष्ट्र विरोधीहरूले विभिन्न आरोप लगाउने गरेको उनको भनाइ छ ।
युवाले सही र गलत छुट्याउनु पर्ने उनले बताइन् । युवाले हरेक कुरालाई रचनात्मक हिसाबले विश्लेषण गर्नुपर्ने बताइन् । सत्य के हो भनेर हेर्ने र खोज्ने मानिस मात्र युवा हुने उनको धारणा छ । मानिस उमेरले मात्र युवा हुने होइन सोच र कामले युवा हुने बताइन् ।
एमालेले कसैको घर लुट्न नसिकाउने उनले बताइन् । सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउने उनले प्रष्ट पारिन् । ‘एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु’, डङ्गोलले भनिन् । जसले सपना देख्छ उसैले काम गर्ने पनि उनले बताइन् । एमाले सपना देख्ने पार्टी भएको उनको धारणा छ ।
काठमाडौं महानगरका प्रमुख बालेन साहलाई लक्षित गर्दै उनले भनिन्, ‘स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ ।’
एमालेका युवाहरू समस्याबाट भाग्ने युवा नभएको पनि उनले बताइन् । समस्यासँग जुधेर समाधान खोज्नुपर्ने उनको धारणा छ ।