भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीरको पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी आक्रमणका लागि जिम्मेवार सबैलाई सजाय दिने प्रतिज्ञा गर्नुभएको छ ।
बिहारमा मधुबनीमा आज भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले हरेक आतङ्कवादी र तिनका समर्थकहरूलाई पहिचान गर्ने, पछ्याउने र दण्डित गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । आतङ्ककारीहरूलाई पृथ्वीको कुना कुनासम्म खोज्ने मोदीको भनाइ छ ।
कश्मीरमा भएकाे आक्रमणलाई लिएर भारतले प्रतिशोधात्मक कदम चाल्न शुरू गरिसकेको छ । भारतले पाकिस्तानसँगको सीमामा रहेको मुख्य नाका बन्द गरेको छ । यस्तै पानी बाँडफाँटको सन्धि स्थगित गरेको छ । भारतले पाकिस्तानी कूटनीतिज्ञहरूलाई निष्कासित गरेको छ भने पाकिस्तानी राहदानी भएका मानिसहरूलाई ४८ घण्टाभित्र भारत छोड्न निर्देशन दिएको छ । पाकिस्तानले भने कश्मीरको घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेको छ ।
यसैबीच भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिएको चेतावनीलाई ठूलो महत्त्वका साथ हेरिएको बीबीसीको खबरमा उल्लेख छ । रक्षामन्त्री सिंहले पहलगाम आक्रमणका दोषीहरूलाई मात्रै नभई भारतीय भूमिमा त्यस्ता घृणित कार्यका योजनाकारहरूमाथि पनि कारबाही गर्ने उद्घोष गर्नुभएको छ ।
विश्लेषकहरूले अब भारतले सैन्य कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्नभन्दा पनि कहिले, कसरी र कस्तो सैन्य कारबाही गर्छ भन्ने प्रश्न महत्त्वपूर्ण भएको ठानेका छन् । सैन्य इतिहासकार श्रीनाथ राघवनले भारतले पाकिस्तानी भूमिमा आक्रमण वा हवाई हमला गर्ने तय भइसकेको बताउनुभएको छ । यसअघि भारतले सन् २०१६ र २०१९ मा यस्तै आक्रमणपछि प्रतिवाद गरेको थियो ।
अमेरिकाको वाशिङ्टनमा रहेको एउटा थिङ्क ट्याङ्क विल्सन सेन्टरका दक्षिण एशिया निर्देशक माइकल कुगल्मन पनि आफ्ना नागरिकहरूमाथि लक्षित आक्रमण र धेरै मानिसको ज्यान जाने गरी भएको आक्रमणका कारण भारतले पाकिस्तानविरुद्ध सैन्य जवाफ दिने सम्भावना धेरै रहेको बताउनुहुन्छ ।
भारत र पाकिस्तान दुवै परमाणु अस्त्र सम्पन्न भएकाले यी दुईबीच तनाव चर्किँदा सबैतिर चासो र चिन्ता बढ्छ । पहलगाम घटनाले भारत–पाकिस्तान सम्बन्ध झनै चिसिने देखिएको छ ।