कन्हैया पटेल / पर्सा । भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूप्रति नेपाल जनता पार्टीले श्रद्धाञ्जली अर्पण गरेको छ ।
विहिवार बीरगंजकको घंटाघरमा दीप प्रज्वलगरी श्रद्धाञ्जली सभामा पार्टीका वरिष्ठ नेता संतोषानंद महाराज लगायत पार्टीका अगुवा र कार्यकर्ताहरुले मृत्यु भएकाहरूप्रति समवेदना प्रकट गर्दै आतङ्कवादीहरूको निन्दा गरेका हुन् ।
आयोजना ग़रीएको उक्त कार्यक्रमको मुख्य उद्देश्य मङ्गलवार जम्मु कश्मीरको अनन्तनाग जिल्ला स्थित पहलगामको बैसरन घाटीमा भएको बर्बर आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली दिनुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु थियो ।
उक्त हमलामा बुटवलका सुदीप न्यौपाने सहित २७ जनाको मृत्यु भएको थियो भने दर्जनौ व्यक्तिहरु घाइते भएका छन् ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल जनता पार्टीका वरिष्ठ नेता संतोषानंद महाराज(संतोष पटेल)ले आतङ्कवादीहरूले हिन्दु धर्मका व्यक्तिहरूलाई लक्षित गरी छानीछानी हत्या गरेको गम्भीर आरोप लगाए । उनले भने, “घुमघामको उद्देश्यले पहलगाम पुगेका निर्दोष हिन्दु पर्यटकहरूलाई इस्लामिक आतङ्कवादीहरूले हिन्दु भएको कारण मात्र हत्या गरे । यो अत्यन्त निन्दनीय र अमानवीय कार्य हो ।” उनले आतङ्कवादीहरूलाई कुनै पनि हालतमा कारबाही गर्नुपर्ने भारत सरकार संग माग गरे ।
पटेलले हमलामा नेपालका सुदीप न्यौपानेको मृत्युप्रति नेपाल सरकारले विज्ञप्ति न निकालनू दुखद रहेको बताए। गहिरो दुख व्यक्त गर्दै उनकी घाइते आमाको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उनले यस्ता हमलाहरूले हिन्दु समुदायमाथि आक्रमणको शृङ्खला बढिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।
नेपाल जनता पार्टीलेले हमलालाई हिन्दु समुदायमाथिको सुनियोजित आक्रमणको रूपमा लिएको छ । समाजले यस्ता आतङ्कवादी गतिविधिको कडा निन्दा गर्दै भारत सरकारसँग दोषीहरूलाई कठोर कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडा सुरक्षा व्यवस्था गर्न माग गरेको छ । साथै, समाजले नेपाल सरकारसँग पनि मृतक नेपाली नागरिकको परिवारलाई उचित राहत र घाइतेको उपचारमा सहयोग गर्न आग्रह गरेको छ ।
मङ्गलवार भएको हमलामा आतङ्कवादीहरूले प्रहरीको वर्दी लगाएर पर्यटकहरूमाथि नजिकैबाट गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । हमला सन् २०१९ को पुलवामा हमलापछिको सबैभन्दा घातक हमला मानिएको छ ।
उक्त हमलाको पाकिस्तानस्थित निषेधित आतङ्कवादी सङ्गठन लश्कर–ए–तैयबाको छाता सङ्गठन ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले यो जिम्मेवारी लिएको छ ।