बीरगंज । बिहीबार ८९ दिनपछि सहमतिका साथ मन्त्रालय बाँडफाँड गर्न सफल भएको सत्ता गठबनन्धनका दलहरुले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । गठबन्धनमा सामेल पाँच दलमध्ये चार दल मन्त्रिमण्डलमा सहभागी हुने छन् भने जनमोर्चा सहभागी नहुने बताइसकेको छ ।
गठबन्धनका दलहरुको सहमतिअनुसार नेपाली कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय पाउने भएका छन् । भोलि शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने बालुवाटार स्रोतले बताएको छ ।
कुन दललाई कुन मन्त्रालय ?
मन्त्रालय भागबण्डाप्रति असन्तुष्टि राख्दै आएको नेकपा एकिकृत समाजवादीले दुई राज्यमन्त्रीसहित ४ मन्त्रालय पाएको छ । नेकपा एसले शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालयलगायत पाएको छ । कांग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्रालय राखेको छ । कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालयलगायत आफूसँग राखेको छ।
नेकपामाओवादी केन्द्रले ५ मन्त्रालय पाएको छ । अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय माओवादीको कोटामा परेको छ । जसपालाई भने भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा वातावरण मन्त्रालय दिइएको छ ।