बीरगंज । नेपाल विद्युत प्राधिकरणले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू गर्ने भएको छ । विद्युत नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले गरेको प्रश्तावमाथि छलफल गरेर आयोगले मंसिरदेखि लागू हुने गरी नयाँ विद्युत महशुल दर लागू गरेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताए ।
सिंहले विपन्न नागरिकहरुलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरुलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने निर्णय भएको बताए ।
आयोगले सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महशुलमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रुपैयाँ कायम गरेको छ ।
त्यस्तै आयोगले मासिक ४ सय युनिटमाथि विद्युत खपत गर्ने उपभोक्ताहरुको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाएको छ ।सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महशुल दरमा २५ रुपैयाँले घटाएर क्रमशः १००,१२५ र १५० रुपैयाँ कायम गरिएको छ, यसैगरी सिंगल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पियर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महशुल दरमा २५ रुपैयाँले घटाएर क्रमशः १५०,१७५,२०० र २५० रुपैयाँ कायम गरिएको सिंहले भने ।
अब २० युनिटसम्मको पहिलो स्ल्याब हुनेछ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ।