वीरगञ्ज । जसपा पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्रका कचरालाई सफा गरेर सुदृद्धिकरण गर्नुपर्नेमा जोड दिएका छन् । नालीलाई सफा नगर्दा घरभित्रै पानी पस्ने जोखिम हुने बताउँदै अध्यक्ष यादवले पार्टीभित्रका बिकार पदार्थ एवम् अराजक तत्वहरुलाई सुदृढिकरण नगर्दा पार्टी नै जोखिममा जाने बताए ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ ओम आश्रममा जसपा पर्साको कार्यालयको उद्घाटन गर्दै अध्यक्ष यादवले सर्पलाई जति दुध पिलाएपनि विष नै दिन बताउँदै जुन थालीमा खायो त्यही थालीमा प्वाँल पार्नेलाई पार्टीबाट पत्तासाफ गर्नुपर्ने धारणा राखे । संगठन, कार्यालय र कोष भयो भने पार्टी राम्रोसँग सञ्चालन हुने यादवको आशय छ । जसपा पर्सा जिल्ला यी सबै कुरामा सक्षम भएको बताउँदै पार्टीका गतिविधिले गति लिने विश्वास व्यक्त गरे ।
जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यालय उद्घाटन कार्यक्रमलाई जसपाका केन्द्रिय सदस्य हरिनारायण रौनियार, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।
सो अवसरमा जसपा पर्साको कार्यालयका लागि घर उपलब्ध गराएका मधेश प्रदेश समितिका सदस्य गौरीशंकर साहलाई जसपा अध्यक्ष यादवले विशेष धन्यवाद दिएका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य करिमा बेगम, भिमा यादव, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार जैसवाल, विन्दवासीनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, पकाहमैनपुर गाउँपालकिा अध्यक्ष विजय चौरसिया, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, केन्द्रिय सदस्य फिरोज मन्सुर, विन्देश्वरी यादव, विरेन्द्र यादव, महाराज यादव, मदन प्रसाद चौहान, प्रकाश बैठा, अजय साह, तुफैल अख्तर, समाजवादी मुस्लिम संघका केन्द्रिय अध्यक्ष मौलानानुर होजा लगायतको उपस्थिती रहेको थियो।