बीरगंज । वीरगंज महानगरपालिकाको शिक्षा समितिले महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका करीब सवा सयजना शिक्षकको सरुवा तथा पदस्थापन गरेको छ।
जसमध्ये सयजना सामान्य शिक्षक रहेका छन् भने २५ जना प्रावि, निमावि र माविका प्रधानाध्यापक रहेको बताइएको छ। शिक्षा समितिको मङ्गलवार र बुधवार बसेको बैठकले विभिन्न उद्देश्यपूर्तिका लागि ठूलो सङ्ख्यामा शिक्षक सरुवा गरेको बैठकमा सहभागी एकजना सदस्यले जानकारी गराए। सुखचैना माविका प्रअ राजकुमार सिंहलाई द्वारदेवी मावि, अलौं, अलौं माविका प्रअ राजु मालीलाई कोनिया मावि, कोनिया माविका प्रअ दयाकान्त झालाई शारदा मावि, बहुअरीमा, शारदा माविका प्रअ रामनारायण मिश्रलाई सुखचैना माविमा, सिद्धार्थ माविका प्रअ राजेश्वर पाण्डेलाई बगही माविमा, बगही माविका प्रअ अरविन्दलाल कर्णलाई पन्नालाल माविमा, पन्नालाल माविका प्रअ मनोजकुमार चौहानलाई सुरजीदेवी माविमा, सुरजीदेवी माविका प्रअ नवीन मिश्रलाई श्रीपुर विद्यापीठमा र श्रीपुर विद्यापीठका प्रअ अनिल वर्णवाललाई सिद्धार्थ माविमा सरुवा गरिएको छ।
माईस्थान विद्यापीठ, नगवा, त्रिभुवन हनुमान, कन्या, त्रिजुद्धलगायत विद्यालयका प्रअको सरुवा गरिएको छैन। माईस्थान विद्यापीठमा दरबन्दी रहेर महानगरमा सम्पर्क व्यक्ति तथा समन्वयकर्ताको भूमिकामा रहेका दिनेश चौरसियालाई सहायक प्रअको जिम्मेवारी दिइएको छ भने जगरनाथपुर निमाविका रामजी सुमन, लालपर्सा निमाविका रामजी चौहान र बेलवा निमाविका हासिम अन्सारी गरी तीनजनालाई प्रअबाट हटाएर शिक्षकको जिम्मेवारी दिइएको बताइएको छ।
विद्यालयको शिक्ष्Fण सिकाइ तथा वातावरण सुधारमा प्रभावकारी भूमिका निर्वाह नगरेका शिक्षक तथा प्रअलाई दण्डित गर्दै वीरगंजभन्दा टाढाका विद्यालय पठाइएको छ भने राम्रा शिक्षकहरूलाई प्रोत्साहनस्वरूप टाढाबाट नजीकका विद्यालयमा सरुवा गरिएको बताइएको छ। सुखचैना माविमा भएको विवादका कारण प्रअसहित आठजनालाई सरुवा गरिएको र उनीहरूको ठाउँबाट शिक्षक, कर्मचारीको पनि सरुवा गरिएको बुझिएको छ। सुखचैनाका प्रअ सिंहसहित शिक्षक, शिवशङ्कर गुप्ता, लक्ष्मण यादव, प्रेम साह, लेखापाल दीपेन्द्र साह, अवधेश पाण्डे र कार्यालय सहयोगी गरी आठजनालाई सो विद्यालयबाट सरुवा गरिएको छ।
त्यसैगरी, प्राथमिक विद्यालयहरूमा पठनपाठन राम्ररी गराउन नसक्ने प्रअहरूको सरुवा गरिएको छ भने अपायक परेका शिक्षकहरूको निवेदनउपर पनि विभिन्न चरणमा छलफल गरी निर्णय भएको नेपाल शिक्षक महासङ्घ, वीरगंज महानगर कमिटीका अध्यक्ष विनोद मेहताले बताए। वीरगंजका ३२ वटा वडामा प्रावि, निमावि र मावि गरी ९९ वटा विद्यालयमा करीब आठ सय शिक्षक कार्यरत रहेकामा विभिन्न ठाउँका विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाहरूको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन यस्तो कदम चालिएको शिक्षा समितिका सदस्यहरूले बताएका छन्। शिक्षा समितिका अध्यक्ष एवं वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा बसेको बैठकमा नेपाल शिक्षक महासङ्घ महानगर समिति अध्यक्ष मेहता, विनोद गिरी, हरिन्द्र चौरसिया, वडाध्यक्ष प्रद्युम्न सेढाईं, कार्यपालिका सदस्य मनोजा चौधरी, प्रअ अनिल वर्णवाल, विद्यालय व्यवस्थापन समितिको तर्फबाट प्रदीप केडियालगायत शिक्षा समितिको सदस्यमा रहेका छन्।