वीरगन्ज २७ कार्तिक : स्वर्गीय मुकेश चौरसियाको श्रद्धाञ्जली सभा सम्पन्न गर्नको लागि नेताहरुको नाम बेच्दै उठाएको रकमको हिसाब किताब एकले अर्कोलाई दिन नमान्दा बबण्डर भएको समाचार प्राप्त हुन आएको छ । नेकपाका नेता नागेन्द्र चौधरीको अगूवाइमा उनकै निवास बीरगंज स्थित फुलवारी टोलमा हिजो बिहान ७ बजे बसेको अगूवा नेताहरुको बैठकमा उठेको रकम फिर्ता गर्ने र नगर्ने बिषयमा ब्यापक विवाद भएको समाचार प्राप्त हुन आएको छ । चौरसियाको श्रद्धान्जली सभामा नेकपा पार्टी अध्यक्ष दाहाल आउने भनेर व्यापक चन्दा संकलनको भागबण्डामा ४ लाख ५० हजार छोटेलाल यादव एक्लै हिनामिना गरेपछि बैठकमा विवाद भएको एक नेताले बताए ।
बैठकमा सहभागि भएका एक नेता अनुसार छोटेलाल यादवले पर्सा र बाराका विभिन्न ठाउँबाट उठाएको रकमको हिसाब दिन्न नमानेपछि बैठकमा भनाभन भएर विवाद भएको छ । कार्यक्रम नभएपछि सभाको नाममा जस्ले जहाँबाट चन्दा सहयोग लिएका छन त्यो अरुले भन्नुभन्दा पनि पहिले नैतिकताको आधारमा फिर्ता गर्ने बिषयमा छलफल हुदा यादवले आफ्रनो हिसान नबताउँदा यादव र चौधरीका बिच विवाद भएको छलफलमा रहेका एक नेताले बताए ।
पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भन्दै बिभिन्न पालिका, उद्योगी ब्यापारी तथा अन्यसंग लाखौं रकम चन्दा लिइएको बताइन्छ । उक्त रकम अव कार्यक्रम हुन नसकेपछि फिर्ता हुनुपर्ने आम कार्यकर्ताको माग रहेको छ भने दाताहरुसँग लिइएको रकम प्राप्त गरे पनि गरिएको छैन भन्दै झुठो सफाइ समेत बैठकमा पेश गरेर रकम झ्वाम पार्ने प्रपञ्च रच्न थालिएको समाचार प्राप्त हुन आएको छ ।
गत ६ गते बिन्दवासिनीमा गाउँपालिका स्तरिय नेकपाको शपथ ग्रहण समारोहमा झडप हुँद जिल्ला कमिटीका सदस्य समेत रहेका मुकेश चौरसिया मारिएपछि दोषीलाई कारवाहीको माग गर्दै आयोजना गरिएको प्रदर्शन, दाह संस्कार, परिवारलाई सहयोग र श्रद्धाञ्जली सभाको नाममा लाखौं रकम उठाइएको र त्यसमा पीडित परिवारलाई प्रयाप्त रकम नदिइएको, सभा नगरेको, उठाइएको रकम फिर्ता नगरिएको र पारदर्शिता अपनाइ सबै हरहिसाव सार्वजानीक गर्नुको साटो उल्टै एकले अर्कोमाथि दोषारोपणमा नै नेता नागेन्द्र चौधरीको निबासमा आयोजित बैठकमा उत्रन थालेपछि अनेक खालको आशंका उत्पन्न भएको हो ।
बैठकमा नेताहरु नागेन्द्र चौधरी, रामचन्द्र साह, बालगोपाल थापा , बिचारी यादब, रहबर अन्सारी, बिजय महतौ, छोटेलाल प्रसाद यादब लगायतको नेताहरुको सहभागिता रहेको बताइन्छ यसका बारमा सहभागिहरु मध्येकालाई सम्पर्क गर्न खोज्दा फोन उठेन ।