वीरगञ्ज । वीरगञ्जमा अन्तर बैंक सेभन साईड फुटबल टुर्नामेन्ट २०७८ सम्पन्न भएको छ । आदर्शनगरस्थित रंगशालामा सोमवार बिहान सम्पन्न टुर्नामेन्टको उपाधि कामना विकास बैंकले जितेको छ ।
फाईनल खेलमा सिभिल बैंकलाई सुन्यका विरुद्ध २ गोलले पराजित गर्दै कामना विकास बैंकले उपाधि चुमेको हो । खेलमा दुवै गोल जय बहादुर थापाले गरेका थिए ।
‘आर्थिक समृद्धिका लागि जनतामा वित्तीय पहुँचको विस्तार खेल मार्फत वित्तीय सचेतना, बैंकिङ् क्षेत्रका कर्मचारीहरुको शारीरिक, मानसिक र आपसी सद्भावको विकास’ भन्ने नाराका साथ नेपाल राष्ट्र बैंक कर्मचारी संघले प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा विजयी कामना विकास बैंकलाई नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने उपविजेता सिभिल बैंकले नगद १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगितामा फियर प्लेटींग टीममा नेपाल बैंक लिमिटेड, उत्कृष्ट खेलाडी कामना विकास बैंकका जय बहादुर थापा, सर्वाधिक गोलकर्ता कामना विकास बैंककै अरुण महतो, उत्कृष्ट गोलपिकर सिटिजन बैंकका दिवेश ठकुरी, उत्कृष्ट डिफेन्डरमा सेन्चुरी बैंकका शिवनाथ साह घोषित भएको संघका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए ।
विजेताहरुलाई नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक राजनदेव भट्टराई, नेपाल राष्ट्र बैंक वीरगञ्जका उपनिर्देशक दण्ड प्रसाद खरेल, वाणिज्य बैंकका प्रदेश प्रमुख लगायतले पुस्कार वितरण गरेका थिए । कार्यक्रमको सहजिकरण नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगञ्ज समितीका उपाध्यक्ष नरेश सर्राफले गरेका थिए ।