मानिसलाई आपत बिपत पर्दा सबै मानिस मिलेर प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गरेकै छ । आगामी दिनहरुमा पनि सबै मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गरिरहने नै छन् । तर कुनै कारण बस कुनै दुर्घटना भएर घाइते हुँदा होस् वा मृत्यु नै हुँदा पनि सडक अवरुद्ध गरेर एकजना व्यक्तिको कारणले सडकमा यात्रा गरिरहेका हजारौं मानिसहरुलाई सास्ति किन ? आखिर ति मानिसहरुको यसमा के दोष ? न त उनीहरुले दुर्घटना गराएको हुन्छ न त यस्तो दुर्घटना होस् भन्ने चाहना नै ।
ति यात्रुहरु पनि केही महत्वपूर्ण कामले कतै गइरहेका होलान् । उनीहरुसँग सिमित खर्च होला । सडक अवरुद्ध गरेर तिनीहरुको काम बिगारेर, उनीहरुलाई अन्यायमा पारेर हामी कस्तो न्यायको खोजीमा छौं ? यसलाई विचार गर्ने कि नगर्ने ?
सडक हो, दुर्घटना त पक्कै हुन्छ । आफ्नो समय बिग्रँदा आफ्नै घरमा समेत दुर्घटना हुनसक्छ । हामी साइकल लिएर हिंड्दा समेत कुनै कुखुरा, भ्यागुता समेत आफ्नो साइकलले नमारोस् भनेर हिंड्छौं, होइन र ? कसैले जानेर, बुझेर त पक्कै कसैलाई ठक्कर दिंदैन । सवारी साधन चलाउँदै गर्दा कहिले आफ्नो गल्तिले र कहिले अर्को व्यक्तिको कारणले पनि कहिलेकाहीं भुलबस दुर्घटना त हुन्छ नै । त्यो स्वभाविक हो । गल्ति तपाई हामीबाट पनि हुन्छ हैन र ? यति कारणले सडक अवरुद्ध गरेर हामीले के पाउँछौं ।
सडक अवरुद्ध गरेर घटनामा घाइते भएका वा मृत्यु भैसकेका मानिसले न्याय पाउँछन् त ? पक्कै हैन ।
जे हुंनु थियो त्यो त भैहाल्यो अब घाइतेलाई उपचार र मृत्यु भएकोलाई दाह संस्कार गरेर दोषीलाई कार्वाही गर्न सम्बन्धित निकाय समक्ष गएर कानुनी प्रकृया अगाडि बढाउँनु उचित हो जस्तो मलाई लाग्छ । आखिर नहुनु दुर्घटना घटिसके पछि त्यो सडक अवरुद्ध गरेर, कैयौ मानिसलाई सास्ति दिएर पनि त त्यै कानुनी प्रकृयामा नै जानुपर्छ र कानुनी प्रकृया अगाडि बढाउँनु पर्छ र दोषीले सजाय पाउँन् र पिडित परिवारलाई केही राहत उपलब्ध होस् ।
अहिले बिभिन्न स्थानमा दुर्घटना हुँदा तुरुन्तै टायर बालेर सडक अवरुद्ध गर्ने चलन देखिंदैंछ । यो कत्तिको उचित हो ? दुर्घटना घटिसकेपछी किन सवारी साधनमा तोडफोड र आगजनी गरिन्छ ? सवारी साधनमा तोडफोड र आगजनी गरेर न्याय पाइएला त ? आखीर त्यस्तो गरेर के फाइदा ? कुनै एकको कारणले कयौं यात्रुले कहीले सम्म सास्ति खेप्नुपर्ने ?