बिरगंज । पर्साको ग्रामीण भेगको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध जीराभवानी मेला सोमवारदेखि शुरू भएको छ ।
जीराभवानी गाउँपालिका– १ र २ को दोसाँधमा रहेको जीराभवानी मन्दिरमा महाशिवरात्रिका दिन लाग्ने मेला सोमवारदेखि शुरू भएको हो । महाशिवरात्रिको अघिल्लो दिन सोमवार त्रयोदशीका दिन भएको कारण बिहानैदेखि मन्दिरमा शिवभक्तहरूको घुइँचो लागेको थियो ।
मन्दिर आसपास रहेका सेढवा, महादेवपट्टि, पकडीटोला, जगतिया, गम्हरिया, भवानीपुर, वसन्तपुर, पिपडाढी, परसवा, जीतपुर, नौकाटोला, सुपौली, कोढौली, शहजानपुर, शङ्करसरैया, हरैया, सखुवनियालगायतका बासिन्दाहरूले आज मन्दिर परिसरमा पुरोहितबाट भगवान् शिवको पूजा अर्चना गरेका छन् ।
आज भक्तजनहरूले विभिन्न जलाशयबाट ल्याएका जल भगवान्लाई अर्पण गरी पूजापाठ गरेका थिए । यसका साथै वर्षेबाली धानको पहिलो अंशको मुडला बनाइ भगवान् शिवलाई चढाएका
छन् ।
महाशिवरात्रिका दिन भगवान् शिवलाई गाजा चढाउने परम्परा रहिआए पनि पर्सामा गाँजाखेती गर्न प्रतिबन्ध लगाएपछि सो परम्परा हराएको छ ।