वीरगञ्ज । नेकपा एमालेका युवा नेता एवम् पर्साको सखुवाप्रसौनी गाउँपालिका अध्यक्षका उम्मेदवार यशवन्त यादवले घर दैलो कार्यक्रम शुभारम्भ गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व मन्त्रीसमेत रहेका शेरे पर्साको नामबाट परिचित चन्द्रदेव प्रसाद चौधरीको शालिकमा माल्यार्पण गर्दै यादवले घर दैलो शुरु गरेका हुन् । निडर नेतृत्वको रुपमा चिनिएका उनी फरक पार्टीका व्यक्ति भएर पनि नेकपा एमालेका युवा नेता यादवले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ रंगपुरस्थित शेरे पर्साको शालिकमा माल्र्यापण गरेर घरदैलो शुरु गरेका हुन् ।
शेरे पर्साको आशिर्वादा र प्रेरणा लिएर काम गर्ने अभिप्रायले माल्यार्पण गरेर घरदैलोको शुरुवात गरिएको यादवले यात्रा डेलालाई बताए । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ मधुवन मथवलबाट शुरु भएको घरदैलो सतवल, खजुरीया, औराहा रेञ्ज, सखुवनीया, सिद्धपुर, सिरही लगायतका टोलमा पुगेर पहिलो दिनको कार्यक्रम सम्पन्न भएको हो ।
घरदैलोको क्रममा गाउँबासीको घरघरमा गएर यादवले आफ्ना बिचार, एजेण्डा र लक्ष्यहरु सुनाएका छन् । गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाउने र गाउँबासीलाई सहज र सरल ढंगले सेवा सुविधा उपलब्ध गराउने यादवको योजना छ । स्थानीय तहको निर्वाचनमा युवालाई अवसर दिन यादवले आग्रह गरेका छन् । गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि गाउँका सामान्य र न्युन वर्गलाई प्राथमिकता दिएर काम गर्ने उनको भनाई छ । नेकपा एमाले गाउँपालिका अध्यक्ष बासुदेव महतो थारुले अब एमालेलाई जिताएर अवसर दिनुपर्नमा जोड दिएका छन् । एमालेले नै अब गाउँलाई समृद्ध बनाउने अध्यक्ष थारुको भनाई छ ।
गाउँपालिकाकी उपाध्यक्ष फुलमती चौधरीले पनि आफु जसपामा रहेर एउटै पार्टीका अध्यक्ष उपाध्यक्ष भएर पनि अपेक्षाअनुसारको काम गर्न नसकेको बताउँदै एमालेमा प्रवेश गरेको बताइन् ।
घर दैलोमा एमालेका नेताहरु रामनाथ दास थारु, भुपदेव राय थारु, इन्द्रदेव थारु, अनिरुद्ध पटेल, आरिफ अन्सारी, जदु साह तेली, राजकिशोर सहनी, शंकर चौधरी, धर्मेन्द्र पटवारी, ज्ञानेन्द्र थारु, गौरी यादव, लाली चमार, तारामती चौधरी, शिवराज राम, लालबहादुर उरावँ लगायतको उपस्थिती रहेको पारस महतोले जानकारी दिए ।