वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा नेकपा एमालेका उम्मेदवारलाई जिताउन नेता कार्यकर्ताहरु सक्रिय भएका छन् । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई बिजयी बनाउन बहुदरमाई नगरपालिका वडा नम्बर १ पिपरा मठमा नगर कमिटीको बैठक सम्पन्न भएको छ ।
नेकपा एमाले नगर कमिटीका अध्यक्ष प्रमोद कुश्वाहको अध्यक्षतामा भएको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्व सांसद राजकुमार गुप्ताले बहुदरमाई नगरपालिकामा नेकपा एमालेप्रति आम नागरिकको आकर्षण बढ्दै गएको बताए । उनले भने, ‘अब नेकपा एमालेले नै मधेश र देशलाई समृद्ध बनाउँछ । अहिलेको अवस्थामा नेकपा एमालेप्रति बढ्दै गएको जनलहरले अरुलाई परास्त गर्ने शक्ति बढेको छ ।’
नेकपा एमालेबाट बहुदरमाई नगरपालिकाको नगरप्रमुख (मेयर) का उम्मेदवार शिब पटेलले काम गर्ने र जनताका समस्याहरुलाई बुझ्ने व्यक्तिलाई नै जनताले जिताउने विश्वास व्यक्त गरे । यसअघिको निर्वाचनमा पराजय भएर पनि जनताको माझमा निरन्तर सामाजिक कामहरु गरेको हुँदा जनताले आफुलाई नै निर्वाचित गराउने पटेलको विश्वास छ । बहुदरमाई नगरपालिकाको बिकास र समृद्धिका लागि नेकपा एमालेको बिकल्प नभएको पटेलको भनाई छ ।
बैठकले नेकपा एमालेको जिल्ला कमिटीका सदस्य ध्रुब प्रसाद साहको नेतृत्वमा ५१ सदस्यीय नगरस्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको सहसंयोजक कृष्ण यादव, सदस्यहरुमा धर्मराज जैसवाल, कुरान मियाँ, राजेश यादव, चन्दन राउत, श्रवण राउत कुर्मी, शरिफ मियाा, दुलार्चन महरा चमार लगायत रहेका छन् ।
यस्तै डा. सन्तोष साहको अध्यक्षतामा ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा शिवचन्द्र पटेल, शिवबालक सहनी, बाबुलाल यादव, हरिनाथ पटेल, राजेन्द्र ठाकुर, मोतिलाल यादव लगायत रहेका छन् ।
बैठकमा नेकपा एमाले जिल्ला कमिटीका सदस्य केदारनाथ तिवारी, रामबाबु साह, पुरण प्रसाद कुर्मी, बहुदरमाई नगरपालिकाकी उपप्रमुखकी उम्मेदवार सुष्मा कुश्वाह, वडा नम्बर १ देखि ९ सम्मका वडाअध्यक्ष, सदस्यका उम्मेदवार, नेकपा एमाले नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।