काठमाडौं । नेकपा एमालेले भदौ २२ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्न मातहत कमिटीलाई दिएको निर्देशनअनुसार ७ निर्वाचन क्षेत्रमा एकल उम्मेदवार सिफारिस भएका छन् ।
एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भनिएकोमा ७ जना नेता सर्वसम्मत रुपमा सिफारिस भएका हुन् । जसको नाम एकल रुपमा सिफारिस भएको छ । आमरुपमा सो क्षेत्रबाट पार्टीले सोही व्यक्तिलाई टिकट दिनेछ ।
क्षेत्रीय कमिटीले गरेको सिफारिसमा जिल्लाले आफ्नो रायसहित प्रदेश कमिटीलाई पठाउने र प्रदेशले रायसहित केन्द्रमा पठाउने सर्कुलर एमालेको छ । क्षेत्रबाटै एक जनाको मात्र नाम सिफारिस भएको अवस्थामा विवाद भएकोबाहेक जिल्ला र प्रदेशले अर्को नाम नथप्ने एमाले स्रोतले जनाएको छ ।
एमाले प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तल्ला कमिटीबाट आएका सिफारिस अन्तिम नहुने र केन्द्रले आवश्यकताअनुसार हेरफेर गर्न सक्ने बताए । तर, आमरुपमा सर्वसम्मत भएका नामको हकमा पार्टीमा विवाद नभएको अवस्थामा भने सोही कायम हुने उनको भनाइ छ ।
एमालेका अधिकांश क्षेत्रीय र जिल्ला कमिटीको बैठक शनिबार र आइतबार बस्दैछ । त्यसैले हालसम्म सर्वसम्मत भएका ७ वटा क्षेत्रको मात्र अनौपचारिक रिपोर्ट आएको एमालेले जनाएको छ ।
एकल नाम सिफारिस भएका ७ मध्ये ४ वटा काठमाडौंकै छन् ।
यी हुन् सर्वसम्मत उम्मेदवार सिफारिस भएका एमाले नेताहरुः
१) राजकुमार गुप्ता – पर्सा ३
२) मणिराम फुयाल – काठमाडौं २
३) कृष्ण राई – काठमाडौं ३
४) डा. राजन भट्टराई – काठमाडौं ४
५) ईश्वर पोखरेल – काठमाडौं ५
६) राजेश शाक्य – काठमाडौं ८
७) दामोदर भण्डारी – बैतडी