बारा । जनमत नै नभएको पार्टीबाट बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका एकिकृत समाजवादीका नेता किसान श्रेष्ठ यतिबेला नेपाली कांग्रेसका नेता फकाउनमा ब्यस्त देखिएका छन् ।
टिकट वितरणलाई लिएर असन्तुष्टी जनाउदै आएको कांग्रेसले सहयोग नगर्ने देखेपछि श्रेष्ठले कांग्रेसका नेता फकाउन थालेका हुन् । आफ्नो समेत केही प्रतिशत लगानी रहेको सिमरास्थित होटल क्लासिकमा बोलाउदै नेता श्रेष्ठले कांग्रेसलाई फकाईरहेका छन् ।
कांग्रेस नेतालाई फकाउने क्रममा श्रेष्ठले तनँहु–१ नेपाली कांग्रेसका बरिष्ठ नेतालाई छोडेर आफू बारा आएको बताउने गरेका छन् । तर उक्त क्षेत्रमा बरिष्ठ नेता पौडेलले टिकट पाउने भएपछि उनि बारा आएका हुन् । नेता पौडेलले टिकट पाउने निश्चित हुँदा श्रेष्ठ उम्मेदवार हुन पाउने थिएनन् ।
तनँहुबाट टिकट नपाउने देखेपछि बारा ४ मा रोजेका श्रेष्ठलाई अहिले आफ्नो निर्णय भारी पर्न थालेको छ । एकिकृत समाजवादीको कमजोर जनमत हुँदाहुँदै पनि ठुलो पार्टीलाई पन्छाएर टिकट हत्याउन सफल भएका श्रेष्ठ अहिले सबैको जनमत जुटाउन प्रयासरत छन् ।
तर श्रेष्ठले कांग्रेसको मत भने प्राप्त गर्ने देखिदैन् । यस क्षेत्रमा कांग्रेस बलियो र धेरै जनमत भएको पार्टी हो । बलियो जनमत हुँदाहुँदै पनि कांग्रेसले यस क्षेत्रमा टिकट नै प्राप्त गर्न सकेन । लगातारको निर्वाचनमा पार्टीले अवसर प्राप्त गर्न नसकेपछि यस क्षेत्रका कांग्रेस कार्यकर्ता यतिबेला रुष्ट छन् ।
स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले नगर प्रमुख पद नेकपा माओवादी केन्द्रलाई सुम्पनुपरेको थियो । कांग्रेसकै मतबाट माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल नगर प्रमुखमा निर्वाचित हुँदा कांग्रेसकी उम्मेदवार मेघा शाही पराजित भएकी थिईन् । नगर प्रमुख निर्वाचत भएको आधार देखाएर माओवादी केन्द्रले यस निर्वाचनमा प्रदेशसभा ४(क) तर्फको टिकट समेत प्राप्त गरेको छ ।
कांग्रेसलाई भ¥याङ मात्रै बनाउदा पार्टीको अस्तित्व समाप्त हुने देखेपछि कांग्रेसका अगुवा नेता इच्छाबहादुर वाग्ले र नारायणी रायमाझीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
पार्टीका कार्यकर्ताको भावनामाथी निरन्तर प्रहार भएको भन्दै उम्मेदवारी दिएको बताउने रायमाझीले भने पार्टीमा उचित पद पाउने भएपछि चुनावी अभियानबाट पछि हटेकी छिन् । कार्यकर्ताको भावनाको कदर नभएको बताउने रायमाझीले अन्तिम समयमा पार्टीले पदीय जिम्मेवारी दिने भएपछि काठमाण्डौ गएर चुनावी अभियानबाट पछि हट्ने घोषणा गरेकी हुन् ।
तर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका वाग्ले भने अझै चुनावी मैदानमा छन् । वाग्लेले चुनावी प्रचारलाई तिव्र पारेका छन् । आफ्नो उम्मेदवारी कांग्रेसलाई जिवन्त राख्न भएको वाग्लेको भनाई छ । कांग्रेसको उम्मेदवार नै नभएको ठाँउमा आफ्नो उम्मेदवारी एउटा विकल्प भएको वाग्लेको भनाई छ । वाग्लेको प्रचारमा दैनिक सयौं कांग्रेस कायकर्ता र शुभेच्छुक सक्रिय देखिन्छन् ।
यता केन्द्रीय शक्ति प्रयोग गरेर टिकट ल्याएका श्रेष्ठ भने वाग्लेको उम्मेदवारीले तनावमा छन् । उनले उम्मेदवारी फिर्ता गराउन प्रयास गरेपनि वाग्ले अडिग देखिएका छन् । वाग्लेले कांग्रेस कार्यकर्ताको भावनामाथी खेलवाड हुन नदिने बताईरहेका छन् ।