पर्सा क्षेत्र नम्बर १ (क) मा एमाले-जसपा गठबन्धनले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ । मतदाताको घरघरै पुगेर दुवै दलका उम्मेदवारले एमाले-जसपा गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।
पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्यमा जसपाका उम्मेदवार पूर्वमन्त्री प्रदीप यादव र १ को (क) मा प्रदेशसभा सदस्यको उम्मेदवार एमालेका विचारी यादव छन् ।
सोमबार जसपा–एमाले गठबन्धनले पर्सा १ को (क) मा पर्ने वीरगञ्ज महानगरको ग्रामणि भेगका विभिन्न वडामा चुनावी रोड शो गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १८, २०, २२ र २३ मा रोड शो गरिएको हो ।
वडा नम्बर १८ भवानीपुरबाट शुरु भएको रोड शो सौराहा, इनरवा, वडा नम्बर २० को हरपतगञ्ज, अपौनी, वडा नम्बर २२ को मनियारी, जगरनाथपुर , वडा नम्बर २३ को सबैठवा हुदै प्रसौनीमा पुगेर समापन भएको थियो ।
प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादव रहेको रोड शो का क्रममा स्थानीय मतदाताले दुवै उम्मेदवारलाई भव्य स्वागत गरेका थिए । मतदाताहरुले दुवै उम्मेदवार यस क्षेत्रको विकास र समृद्धिका लागि निरन्तर लागिपरेकाले यसपालि दुवै उम्मेदवारको जित सुनिश्चित भएको प्रतिक्रिया समेत जनाएका थिए ।
एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवले पनि जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई नै मत दिन आग्रह गरे ।