वीरगञ्ज । कृत्रिम मानव खुट्टा नि:शूल्क उपलब्ध गराउँदै आएको रोटरी क्लब अफ वीरगञ्जले अबदेखि कृत्रिम हात पनि उपलब्ध गराउने भएको छ ।
गएको १८ महिनामा ३ सयभन्दा बढीलाई कृत्रिम खुट्टा जोडेर सहज जीवन यापन गराउन सफल भएको रोटरीले बिहीबारबाट हात गुमाएकाहरुलाई कृत्रिम हात जोड्न सुरु गरेको हो ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बिहीबार एक कार्यक्रमकाबीच वीरगञ्ज २७ उदयपुर घुर्मीका उपेन्द्र पटेलको देब्रे हातमा कृत्रिम हात जोडेर रोटरीको निशुल्क हात उपलब्ध गराउने अभियानको सुभारम्भ गरेका छन् ।
दुर्घटनामा परी हात गुमाएका पटेलले दैनिक जीवन यापनमा भोग्दै आउनु परेको कठिनाई कृत्रिम हात जडान गरेपछि केही सहज हुने विश्वास लिएका छन् ।
भारी बस्तु उचाल्न नसके पनि सामान्य जीवन यापनमा कृत्रिम हातले निकै सहज पुर्याउने कृत्रिम हात खुट्टा जडान गर्दै आएका रोटरीका डा.शाश्वत बताउँछन् । कृत्रिम खुट्टा जडानमा सफलता प्राप्त गरेको उनैको टिमले अब भने कृत्रिम हात जडानको सुरुवात गरेको हो । हात नभएकाहरुलाई आफूहरुले इलेक्ट्रोनिक अपरेटेड हात जडान गर्न लागेको उनले जानकारी दिए ।
महानगरका मेयर सिंहले रोटरीले गरेको कामको कुनै तुलना हुन नसक्ने भन्दै मानवीय जीवन सहज बनाउन निर्वाह गरेको भूमिका अतुलनीय रहेको भन्दै प्रशंसा गर्न लायक रहेको बताए । हात खुट्टा गुमाएर जीवनदेखि नैराश्य बन्न पुगेकाहरुमा आशाको दीप जलाउने काम रोटरीले गरिरहेको भन्दै उनले हातेमालो गरेर अघि बढ्न महानगर सँधै तयार रहेको बताए ।
कार्यक्रममा भारतीय महावाणीज्य दूतावास वीरगञ्जका महावाणीज्य दूत नितेस कुमारले रोटरीले गरिरहेको काममा भारत सरकार पनि सहयोग गर्न तत्पर रहेको बताए । उनले नेपाल भारत दुबै देशका नागरिकको सेवामा खटिएकाले यसलाई अझै प्रभावकारी बनाउनेतर्फ आफूहरु सहयोग गर्न तयार रहेको बताए ।
१८ महिनाअघि कृत्रिम खुट्टा हाल्न सुरु गरेको रोटरीले यो अवधीमा २४० जना पुरुष र ६० जना महिलामा कृत्रिम खुट्टा हालेर उनीहरुलाई सहज जीवन यापन गर्न सहयोग पुर्याएको छ ।
क्लबले पर्सा, बारा, धनुषा, उदयपुर, मोरङ, धनकुटा लगायत २५ वटा जिल्लाका खुट्टा गुमाएकाहरुलाई कृत्रिम खुट्टा हालिएको छ । यस्तै भारतका विभिन्न स्थानबाट आएका १ सय जनालाई पनि यो सेवा उपलब्ध गराइएको रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष पियुष गुप्ताले बताए ।
एउटा कृत्रिम खुट्टा हाल्न १५ हजार र हातको १२ हजार ५ सय खर्च लाग्ने भए पनि अहिले रोटरीले नि:शूल्क यो सेवा प्रदान गरिरहेको अध्यक्ष गुप्ता बताउँछन् । केही दाताहरु र केही क्लबकै साथिहरुको सहयोगमा यो सेवा सञ्चालन गरिरहेको भन्दै उनले यसलाई प्रभावकारी बनाउन सबैको सहयोगको खाँचो रहेको पनि बताए ।
कृत्रिम खुट्टा हाल्ने क्रममा आफूहरुले नेपालमा बढी जसो सडक दुर्घटनामा परेर हात खुट्टा गुमाउने गरेको भेटिएको पनि उनले बताए ।
सडक सवारी बढी जोखिम देखिएको भन्दै उनले स्तरीय सडक र ट्राफिक व्यवस्थापन चुस्त हुन नसक्दा हुने गरेको दुर्घटनाले दैनिक हात खुट्टा गुमाउनेहरु बढीरहेको उनी बताउँछन् । क्यान्सर र मधुमेहका कारण पनि खुट्टा हात गुमाएकाहरु आफूहरुले भेटेको भन्दै उनले सवारी दुर्घटना भने प्रमुख कारण रहेको बताए ।