वीरगञ्ज । वीरगञ्जको परवानीपुरस्थित डि.ए.भी. रुकमिनी बनारसी केडिया स्कूल आजबाट २९ वर्षमा प्रवेश गरेको छ । २९ वर्षमा प्रवेश गरी ३० वर्षमा लाग्दै गरेको अवस्थामा स्कुल र स्कुल परिसरलाई सजाएर आकर्षक बनाइएको थियो । स्कुलका संस्थापक स्वर्गीय शंकरलाल केडियाको ८७ औँ जन्मजयन्ती र स्कुलको २९ औँ वार्षिकोत्सव स्कुलले भब्य कार्यक्रम गरेर मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराचन्द्र केडियाको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव एवम् सांस्कृतिक कार्यक्रमको उद्घाटन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले गरेका थिए । स्कुलका संस्थापक एवम् बरिष्ठ उद्योगी तथा समाजसेवी स्वर्गीय शंकरलाल केडियोको तस्विरमा माल्यार्पण गर्दै अध्यक्ष डा. गुप्ताले उनको सामाजिक योगदान र व्यक्तित्वको स्मरण गरेका थिए । विद्यालय ज्ञानको पवित्र मन्दिर भएको बताउँदै डा. गुप्ताले विद्यार्थीहरुलाई शिक्षासँगै अनुशासन, ईमान्दारीता, लगनशिलता जस्ता गुणहरु पनि सिक्नुपर्नेमा जोड दिए । किताबी ज्ञानका साथै व्यावहारिक ज्ञानले व्यक्तिलाई पूर्णता दिने उनको भनाई छ ।
शिक्षासँगै संस्कार पनि सिक्नुपर्ने आवश्यक्ता औँल्याउँदै डा. गुप्ताले भने, ‘काचो माटोलाई जुन आकार दियो, त्यस्तै बने जस्तै बालबालिकाहरुलाई पनि काचो हुँदा नै सही आकार दिनुपर्छ । जसले गर्दा उनीहरु पछि गएर समाजका उदाहरणीय पात्र बन्न सकुन् ।’ उनी थप्छन्, ‘विद्यालय विद्यार्थीको दोस्रो पाठशाला हो भने पहिलो पाठशाला घर हो । यस अर्थमा पहिला गुरु पनि अभिभावक नै हुन् । त्यसैले अभिभावहरुले पनि घरमा बालबालिकालाई संस्कार सिकाउन आवश्यक छ ।’
सोही अवसरमा नेपाल चालम दाल तेल संघका केन्द्रीय अध्यक्षसमेत रहेका डा. गुप्ताले इन्दु शंकर विज्ञान प्रयोगशालाको पनि उद्घाटन गरेका थिए । विज्ञान प्रयोगशालाको उद्घाटन गर्दैै यसको सही सदुपयोग हुने र विद्यार्थीहरु भरपुर मात्रामा लाभान्वित हुने विश्वास पनि डा. गुप्ताले व्यक्त गरेका छन् ।
वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रमलाई सञ्चालक समितिका उपाध्यक्ष एवम् शंकरलाल केडिया डेण्टल हस्पिटलका प्रमुख डा. विजय अग्रवाल, विद्यालय व्यवस्थापन समितीका प्रदीप केडिया, सुनिल केडिया, सौरभ केडिया लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा स्कूलका पि.जी. कक्षादेखि १२ कक्षा सम्मका विद्यार्थीहरूले रितिरिवाज एवम् संस्कृतिको जगेर्ना गर्ने किसिमको भेषभुषामा नृत्यसँगै नाटक पनि प्रस्तुत गरेका थिए ।
स्कुलका प्रिन्सिपल राकेश मिश्राले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण स्कुलकी शिक्षिका मेघा दधीचले गरेकी थिइन् ।