बीरगन्ज । बीरगन्जका पत्रकार स्वर्गीय नरेश सर्राफको समृृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले अक्षय कोष स्थापना गरेको छ । महासंघ पर्सा शाखा कार्य समिति सदस्य समेत रहेका सर्राफको १३ औं दिनको पूण्य तिथीमा बुधबार बसेको पर्सा शाखाको बैठकले अक्षय कोष स्थापना गर्ने निर्णय गरेको हो ।
बुधबार नै सर्राफको १३ औं दिनको पूण्य तिथीमा आयोजित श्रद्धान्जलीसभामा शाखा अध्यक्ष अनुप तिवारीले यस बारे जानकारी गराएका हुन् । स्वगीय सर्रापकी पत्नि र छोरीको स्वामित्व रहने गरि महासंघले तत्कालका लागि आफनो तर्फबाट १ लाख ५० हजार रुपैया जम्मा गरेर अक्षय कोष स्थापना गर्ने निर्णय गरेको अध्यक्ष तिवारीले जानकारी गराए ।
उक्त कोषमा पूर्व मन्त्री एंव पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य (सांसद) प्रदीप यादवले पनि १ लाख रुपैया उपलब्ध गराउने घोषणा गरे । बुधबार आयोजित श्रद्धान्जली सभामै नवनिर्वाचित प्रतिनिधीसभा सदस्य यादवले स्वर्गीय पत्रकारको आश्रीत परिवारको राहतका लागि प्रधानमन्त्रीलाई भेटेर सरकारका तर्फबाट ५ देखि १० लाख बिचको रकम उपलब्ध गराउन आफुले पहल गर्ने प्रतिबद्धता पनि जनाए । त्यस्तै उक्त कोषमा ए न्युज टेलिभिजनका सञ्चालक एवं प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारीले २१ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे । साथै पत्रकार महेश दासले पनि १० हजार रुपैया दिने घोषणा गरे ।
श्रद्धान्जलीसभामै बोल्दै पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारीले स्वर्गीय पत्रकार सर्राफको स्मृतिमा हरेक वर्ष महासंघको स्थापना दिवसको अवसरमा १० वर्ष सकृय पत्रकारीता गरेका र ४० वर्ष उमेर नकटेका एक जना पत्रकारलाई स्वर्गीय नरेश स्मृति पत्रकारीता पुरस्कार प्रदान गर्ने निर्णय भएको पनि जानकारी गराए ।
महासंघले स्थापनाको गरेको अक्ष्य कोषबाट वार्षिक हुने आम्दानीको रकम मध्ये २० प्रतिशत रकम पुरस्कार वितरणमा र ८० प्रतिशत रकम स्वर्गी सर्राफको परिवारको भरणपोषणमा खर्च गरिने जानकारी पनि उनले गराए ।
तिवारीको अध्यक्षतामा भएको श्रद्धान्जलीसभामा पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेसप्रदेश महासचिव श्याम बन्जारा , केन्द्रिय सदस्य केसी लामिछाने , समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य राघव साह , प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर , बीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतम लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
पत्रकार महासंघ पर्सा शाखाका सदस्य समेत रहेका ३८ वर्षिय सर्राफको यहि मंसिर १५ गते हृदयतघातबाट निधन भएको थियो ।