वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सहयोगीको आयोजनामा निःशूल्क मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ । वीरगञ्जको माइस्थानस्थित गहवा मन्दिर अगाडीको पार्कमा शिविर सम्पन्न भएको हो । क्लबका अध्यक्ष दिलपाल साहको अध्यक्षतामा भएको शिविरबाट १ सय जनाभन्दा धेरै लाभान्वित भएको क्लबका प्रथम उपाध्यक्ष पशुपति भट्टले जानकारी दिए ।
शिविरमा १७ वर्षदेखि ७० वर्ष उमेर समूहकाले निःशूल्क रुपमा मधुमेह परीक्षण गराएका थिए । पुषको बढ्दै गरेको चिसो र शितलहरका बाब्जुद पनि शिविरमा परीक्षणका लागि उल्लेख्य उपस्थिती रहेको थियो । वीरगञ्जकै ६४ वर्षीय प्रलाद राय अग्रवालले निःशूल्क रुपमा सुगर (मधुमेह) को परीक्षण गर्न पाउँदा खुशी व्यक्त गरे ।
६७ वर्षीय दिना प्रसाद गुप्ता पनि निःशूल्क मधुमेह परीक्षण शिविर हुने खबर थाहा पाएर परीक्षण गराउन बिहानै माइस्थान पुगेका थिए । ‘फ्रि मै सुगर चेक गराउन पाउँदा असाध्यै खुशी लागेको छ । यस्तै कार्यक्रम सँधै भइरहनुपर्छ’ गुप्ताले भने । गुप्ता जस्तै मुहारमा मुस्कान छर्दै वीरगञ्ज माइस्थान निवासी ६२ वर्षीय कलावती देवी रौनियारले पनि शिविरबाट लाभ लिएकी छिन् ।
शिविरमा क्लबका सचिव एवम् कन्सलटेन्ट फिजिसियन डा. अजय कुमार गुप्ता, सहसचिव एवम् कन्सलटेन्ट फिजिसियन डा. प्रवेज आलम अन्सारी र कन्सलटेन्ट इन्डोक्रिनोलोजिष्ट डा. राजीव यादवले सहभागीहरुलाई परामर्शसँगै स्वास्थ्यमा ध्यान दिनुपर्ने बारे सुझाव दिएका थिए ।
शिविरमा डा. अजरा खातुनल, डा. निर्माया नेपाली, डा. एलिना साह, डा. सुमित चौधरी, डा. सुन्दर भण्डारी, डा. अमृत थापा, डा. रञ्जिता मण्डल र डा. चाँदनी शाहले तौल, रक्तचापसँगै मधुमेह परीक्षण गरेका थिए ।
यसअघि विश्व मधुमेह दिवसको अवसरमा पनि सोही ठाउँमा क्लबले मधुमेह परीक्षणको शिविर आयोजना गरेको थियो । उक्त शिविर भब्य रुपमा सफल भएसँगै दोस्रो पटक पनि शिविरलाई निरन्तरता दिइएको क्लबका द्वितिय उपाध्यक्ष अमरकान्त झाले बताए । आगामी दिनमा अरु पनि सामाजिक कार्यमा अग्रसर रहनुका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेर क्लबले काम गर्ने झाको भनाई छ ।
शिविरमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह पनि सहभागी भएर सामाजिक कार्यमा सरीक हुन प्रोत्साहन गरेका थिए । सामाजिक कार्यमा महानगरले पनि साथ दिने विश्वास दिलाउँदै उनले गरिब, विपन्न एवम् न्युन आर्थिक अवस्थाका परिवारको स्वास्थ्यमा टेवा पुग्ने खालका कार्यक्रम क्लबहरुले गरेकोमा खुशी व्यक्त गरे ।
शिविरमा क्लबका पदाधिकारी, सदस्यहरुका साथै विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।