वीरगन्ज १६ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा औद्योगिक पार्कको शिलान्यास गरेका छन् । उनले आइतबार दमकमा ‘चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्क’को शिलान्यास गरेका हुन् ।दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा पर्ने जग्गामा पहिलो चरणमा ६४ अर्ब रुपैयाँ लगानी गरेर पार्क बन्नेछ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार पार्क २१ सय बिगाहा क्षेत्रफलमा फैलिएको हुनेछ ।
यसको भौतिक पूर्वाधार ५ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभेलपमेन्ट जोन जिङ–पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलपमेन्ट कम्पनी लिमिटेडले पार्क बनाउनेछ । पार्क निर्माणका लागि सन् २०१७ मै चिनियाँ टोलीले स्थलगत अवलोकन गरेको थियो ।पार्कमा सवारीसाधन, मोबाइललगायतका विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनी स्थापना हुनेछन् ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् ।आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले संसद पुनर्स्थापना चिन्ताको विषय नभएको बताए ।संसद पुनर्स्थापना भएपछि चितवनको सभा छाडेर काठमाडौं आएका नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेको चर्चा गर्दै उनले भने, ‘प्रभु ! संसद पुनर्स्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन । प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुप¥यो ।
विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ ।’देशको विकास रोक्न आफूलाई हटाउन खोजेको ओलीको दाबी छ । तर कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वास नगरेको र विचार गरौंला भनेर पठाएको उनले सुनाए । जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दा तपाईंहरुको कुन पार्टी हो भनेर प्रश्न गरेपछि नेताहरु झसङ्ग भएको पनि ओलीले टिप्पणी गरे । यसैगरी प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकारले छिटै वार्ता गर्ने बताउनुभएको छ ।
पार्क शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव समूहका कारण देशमा भइरहेको समस्या छिटै समाधान हुने र वार्ताको तयारी भइरहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घले आइतवार मात्रै सार्वजनिक गरेको विश्व शान्तिको सूचकमा नेपालले स्थान सुधार गरेको र दक्षिण एसियामै पहिलो देश बनेको पनि बताउनुभयो । देशमा विकासको अभूतपूर्व लहर चलिरहेको ओलीको भनाइ छ । उहाँले औद्योगिक पार्कले नेपालको व्यापार घाटा घटाउन सहयोग पुग्ने बताउनुभयो । नेपालले विदेशबाट किनेर मात्रै ल्याउने नभइ बेच्ने हिसाबले पनि काम गर्नुपर्ने उहाँको भनाइ छ ।