वीरगन्ज । सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा कार्यरत भन्सार एजेन्ट, तिनका प्रतिनिधि र सहयोगीहरु पुन: काममा फर्केका छन् । भन्सार कार्यालयको कार्यशैलीप्रति बिमति जनाउँदै बिहीबारदेखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका उनीहरुले शुक्रबार साँझ ४ बजेदेखि काम सुरु गरेका छन् ।
वीरगन्ज भन्सार एजेन्ट संघका प्रतिनिधि र प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीसहितका भन्सार अधिकृतबीचहरुबीच बिहीबार दिउँसो करिब १ बजेदेखि भएको वार्ता निष्कर्षमा पुगेपछि भन्सार एजेन्ट र उनीहरुका प्रतिनिधि तथा सहयोगीकाममा फर्किएका हुन् ।
संघका कार्यवाहक अध्यक्ष निर्मलप्रसाद कुर्मीले बिहान १० देखि साँझ ५ बजेसम्म ग्रिनलेन राख्ने, मूल्यांकन फाँट भिन्दै राख्ने, भन्सार कर्मचारीहरुले आफ्नो बोली व्यवहार सुधार्नेलगायत सहमति भएको बताए । ‘भन्सार पक्षले हाम्रो प्रायः सबै माग सम्बोधन गर्न सहमत भयो,’ उनले भने, ‘हामी साँझ ४ बजेदेखि काममा फर्किएका छौं ।’
वीरगन्ज भन्सार एजेन्ट संघ पर्साले बिहीबार प्रमुख भन्सार अधिकृत भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै संघको काम ठप्प पारेका थिए ।
संघका मागहरुमा भन्सार कर्मचारीहरुले आफूहरुलाई हप्काउने प्रवृत्ति रहेकाले कर्मचारीले आफ्नो ओहदाभित्र रही काम गर्नु पर्ने, भन्सारले व्यापारमा सहजीकरण गर्नु पर्नेमा जटिल झमेला गराई आयातकर्ताले मालबस्तु अर्को नाकाबाट लग्न थालेकाले त्यस्तो अवस्थाको अन्त्य हुनु पर्ने, यसअघि पाइरहेको पटके सुविधा सुचारु गरिनु पर्ने, प्रमुख भन्सार अधिकृतले दिएको जाँचपाससम्बन्धी नयाँ निर्देशन लागू हुनुपर्ने, औद्योगिक कच्चा पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्यांकन हुनु पर्ने, एउटै जाँचकीले जाँचपास मूल्यांकन दुबै हेर्नु पर्ने, भन्सार ऐनमा भएको सुविधाअनुसार आंशिक पैठारी गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका माग राखेको थियो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोषकुमार न्यौपानले दुवै पक्षबीच सहमति भएपछि भन्सार एजेन्ट र तिनका प्रतिनिधिहरु साँझ करिब ४ बजेबाट काममा फर्किएको बताए । उनले संघका प्रायः सबै माग सम्बोधन गरिएको बताए ।
सामान्य अवस्थामा यो भन्सारले दैनिक सरदर ११ करोड रुपैयाँ राजस्व संकलन गर्छ । तर, बिहीबार भने राजस्व संकलनसमेत प्रभावित भयो । बिहीबार ८ करोड ६६ लाख रुपैयाँमात्र राजस्व संकलन भएको न्यौपानेले बताए ।