वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको मेयर घरदैलो स्वास्थ्य शिविर आजबाट वडा नम्वर २३ प्रसौनी विर्ता आइपुगेको छ ।
प्रसौनी विर्ताको स्वास्थ्य चौकीमा शिविर सुरु गरिएको महानगरको स्वास्थ्य महाशाखाका प्रमुख रितेश जयसवालले जानकारी दिए ।
शिविरमा निशुल्क स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधीसमेत निशुल्क वितरण हुँदै आएको छ । शिविरमा फिजिसियन उमेश सर्राफ, बालरोग विशेषज्ञ सागर गुप्ता र स्त्री रोग विशेषज्ञ जिन्नातुन नेसाले सेवा दिइरहेका छन् ।
यस्तै गाडीमै जडान गरिएको ल्याब, युएसजी र इसीजी मेसिनले शिविर संचालन भएकै स्थानमा आवश्यक जाँच गरेर रिपोर्ट दिने गरिएको छ ।
शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई महानगरपालिकाले उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा विभिन्न ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउँदै आएको छ ।
यस अघि महानगरका विभिन्न ११ वटा वडामा शिविर सम्पन्न भइसकेको छ । जसमा १२ हजार भन्दा बढीले निशुल्क स्वास्थ्य जाँच गराउनुका साथै औषधी प्राप्त गरेका छन् ।
महानगरका ग्रामिण क्षेत्रका वडालाई लक्षित गर्दै यो कार्यक्रम संचालन गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए । घरदैलोमै पुगेको शिविरमा आफ्नो स्वास्थ्य जाँच गराएर लाभ लिन सबै वडावासिलाई उनले आग्रह पनि गरेका छन् ।
ग्रामिण क्षेत्रका आफ्ना नागरिक बजार धाइरहनु पर्ने बाध्यतामा नरहुन भनेर शिविर चलाइएको पनि उनले बताए ।