जनकपुरधाम। मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।
बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। त्यसअघि यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख मिश्रसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।
यादवलाई जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ।
१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ।
नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र तीन जना प्रदेशसभा सदस्यको सरकारलाई समर्थन छैन।
प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपरान्ह ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेका थिए। पुस २९ गते मुख्यमन्त्रीको शपथ ग्रहण हुनेछ।
उनी मेधश प्रदेशका निवर्तमान सभामुखसमेत हुन्।
मधेसमा जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको छ ।
आजै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री चयन हुँदैछन् ।